प्युठान : प्यूठान नगरपालिका ६ माझकोट ओखरबोटकी टोपली विकले घरकै आँगनमा पानीको धारा खस्ला भन्ने कहिल्यै सोचेकी थिइनन् । डाँडाको बस्ती भएकाले वर्षामा पोखरीमा जम्मा भएको आकाशे पानी उपभोग गर्थिन् । हिउँदमा घण्टौं पैदल हिँडेर पानीको जोहो गर्थिन् । तर, अचेल उनको घरको आँगनमा पानीको धारा खसेको छ । आँगनमा पानीको धारा खसेसँगै उनको जीवनमा खुसी छाएको हो ।
‘पानीले गर्दा कतिबेला गाउँ छाडेर जाने होला भन्ने हुन्थ्यो,’ उनले भनिन्, ‘हिजोआज विगतका सबै दु:ख बिर्सिएका छौं ।’
टोपली मात्र होइन वर्षौंदेखि पोखरीमा जम्मा भएको पानी उपभोग गर्दै आएका ओखरबोटका स्थानीयका घरघरमा पानीका धारा बनेपछि उनीरू निकै हौसिएका छन् । उपभोक्ता समितिले गर्नुपर्ने काम गाउँलेले गरेर घरघरमा धारा बनाएका हुन् ।
पानीको जोहो गर्ने दु:खका दिन गएकामा स्थानीय खुसी देखिन्छन् । सोलारमार्फत दुई घण्टा टाढाको भुतभुते पँधेराबाट लिफ्टमार्फत पानी तानेर गाउँमा खानेपानी ल्याइएको छ ।प्यूठान नगरपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत ४९ लाख रूपैयाँ लागतमा भुतभुते खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको हो । गाउँका ४८ घरमा धारा बनेका छन् । दुर्गम गाउँमा खानेपानीको आयोजना परेकामा ओखरबोट, आरुगैरा, चापागैराका स्थानीय औधि खुसी छन् । ‘घरघरमा धारा जोडिएका छन्,’ स्थानीय मोतीलाल भण्डारीले भने, ‘आँगनमा पानीका धारा खसेसँगै दु:खका दिन गए भन्ने भएको छ । पँधेराको पानी घरमै आउँदा सबै जना खुसी छौं ।’
खोल्साको पानी डाँडामा आउला भन्ने कहिल्यै नसोचेको कुरा पूरा भएको स्थानीय तुल्सा सुनारले सुनाइन् । ‘आँगनमा चिटिक्क धारा निर्माण गरेका छांै,’ उनले भनिन्, ‘डोको बोकेर पानी भर्ने दिन अतीतजस्तै लाग्छ ।’ ६४ वर्षको उमेरमा भुतभुते पँधेराको पानी डाँडामा निस्केको देख्दा सपनाजस्तो लागेको उनले बताइन् ।
भुतभुते खानेपानी तथा सरसफाइ आयोजनामार्फत माझकोटका ४८ घरपरिवारलाई घरघरमा धारा निर्माण भएको प्यूठान नगरपालिका पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका कार्यक्रम संयोजक इन्द्रमणी पोख्रेलले बताए । ‘ओखरबोट बस्तीमा सोलारमार्फत लिफ्टमार्फत पानी पुर्याएका छौं,’ पोख्रेलले भने, ‘यसले स्थानीयलाई विद्युत् महसुल तिर्न पनि परेको छैन ।’ मल्लरानी गाउँपालिका ३ बुकेनीका स्थानीयको वर्षौंदेखिको पानीको सपना साकार भएको छ ।
सानीलेक मुहानबाट गाउँमा लिफ्टमार्फत पानी झरेको छ । ‘गाउँमा पानी आउला भन्ने आशा नै थिएन,’ स्थानीय लालमती पुनले भनिन्, ‘काकाकुल डाँडा थियो । अहिले घरैपिच्छे पानीका धारा छन् । घण्टौं पानी बोक्ने समस्या रहेन ।’ पानीको समस्याले गाउँका धेरै बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको उनले सुनाइन् । ‘छोराछोरीलाई पनि पानी बोक्न लगाउँथ्यौं,’ पुनले भनिन्, ‘अहिले समयमै पढ्न जान पाएका छन् ।’
स्थानीय सन्तबहादुर नेपालीले वर्षौंको मागपछि खानेपानीको सुविधा भएको सुनाए । खानेपानी नहुँदा धेरैजसोले व्यक्तिगत सरसफाइमा ध्यान दिन नसकेको उनको अनुभव छ । ‘खानीपानीसम्बन्धी काम गर्दा गृहिणी महिलाको निकै सक्रियता पाइयो,’ स्थानीय हुमबहादुर थापाले भने, ‘जनता मिले भने काम गर्न समस्या नहुने रहेछ ।’ गाउँका ९५ वटै घरमा निर्माण भएका धारामा पानी आएको उनले सुनाए । पञ्चायतकालदेखि नै गाउँलेले खानेपानीको माग गरेकामा यस वर्ष पूरा भएकोमा सबै गाउँले खुसी भएको उनले सुनाए ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बिजुवारले लिफ्ट आयोजना सञ्चालन गरेर पानीको सुविधा गाउँमा पुर्याएको छ । स्थानीयको जनश्रमदानसहित १ करोड ५० लाख रुपैयाँ लगानी भएको बुकेनी सानीलेक लिफ्ट खानेपानी योजनाका अध्यक्ष नारायण पुनले जानकारी गराए । मुहानबाट पानी तानेर गाउँको बीचमा २२ घनमिटरको पानी ट्यांकी निर्माण भएको छ । मुहानबाट करिब १२ सय मिटरको दूरीमा रहेको ट्यांकीमा पानी ल्याइएको हो ।
बुकेनीमा क्रमागत योजनाअन्तर्गत झन्डै चार वर्ष लगाएर योजना पूरा भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख ग्रिष्म थापाले बताए । ‘क्रमागत योजनाका कारण बजेट एकैपटक आएन,’ उनले भने, ‘स्थानीयको सक्रियताले गर्दा काम गर्न धेरै सहज भयो ।’ लिफ्ट सञ्चालनका लागि आवश्यक पर्ने विद्युत् क्षमता जडानमा समेत ढिलाइ भएकाले समय लम्बिएको उनको भनाइ छ ।
पोखरीको पानी प्रयोग गर्दै आएका स्वर्गद्वारी नगरपालिका ३ डाँडाखर्कका स्थानीयको घरैपिच्छे धारा बनेपछि हर्षित छन् । स्थानीय ओधर्ने खोलाको मूलबाट पानी लिएर गाउँका ९४ परिवारको घरघरमा धारा निर्माण भएको ओधर्ने खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समिति अध्यक्ष खिमबहादुर बुढामगरले बताए । स्थानीय महिनौं श्रमदान गर्न सहमत भएपछि अयोजना निर्माणको काम पूरा भएको उनले बताए ।
स्वर्गद्वारी नगरपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको आर्थिक सहयोगमा आयोजना निर्माण भएको हो । नगरपालिकाको ६ लाख, परियोजनाको ३२ लाख ६२ हजार ३ सय ७८ रुपैयाँ र स्थानीय समुदायको श्रमदान गरी झन्डै ६० लाख रुपैयाँको लागतमा आयोजना पूरा भएको थियो । सबैका घरमा पानीका धारा निर्माण भएपछि गाउँलेलाई धेरै राहत मिलेको स्थानीय जानका रोकाले बताइन् । ‘झन्डै दुई महिना श्रमदान गरेका थियौं,’ उनले भनिन्, ‘हिजोआज पानीको डोको बोक्न नपर्दा सबै दु:ख बिर्सियौं ।’
जिल्लामा निर्माणाधीन र आगामी वर्ष निर्माण गरिने खानेपानीका योजनामा घरघरमा धारा राख्ने गरी जिल्लाभर स्टिमेट गरिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानका प्रमुख ग्रिष्म थापाले बताए । ‘खानेपानीका योजना निर्माण गर्दा सबै ठाउँमा निजी धाराको स्टिमेट हुन्छन्,’ उनले भने, ‘यसले जनतालाई अवश्य पनि खुसी तुल्याएको छ ।’
माण्डवी गाउँपालिकाको रम्दीचीन, मर्काबाङ ढिकावन, ऐरावती गाउँपालिकाको पकला, प्यूठान नगरपालिकाको खैराकोट, झिमरुक गाउँपालिकाको बाँदीकोटलगायत स्थानमा बनेका आयोजनाले निजी धारा निर्माणमा जोड दिएका छन् । पानीको स्रोत राम्रो रहेका पुराना योजनालाई पनि मर्मत गर्दा निजी धारा बनाउने गरी अगाडि बढाइएको उनले बताए । कार्यलयमार्फत जिल्लाभर झन्डै ३ हजार निजी धारा निर्माण भएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सरुमारानी गाउँपालिकामा पनि नयाँ योजना निजी धारा निर्माण गर्ने गरी काम भइरहेको अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । उनका अनुसार यस वर्ष गाउँपालिकामार्फत हंंसपुर बृहत् लिफ्ट, पालुपँधेरा, ददेरी बृहत्, दानसिङ मान्द्रे र डिङलाङ खोला लिफ्टमार्फत खानेपानी आयोजना निर्माण भइरहेका छन् ।
स्थानीय सरकारको साझेदारीमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले दुई दर्जनभन्दा बढी योजना निजी धारा निर्माण गर्ने गरी अघि बढाएको छ । ‘यस योजनाअन्तर्गत झन्डै १ हजार ४ सय धारा बन्नेछन्,’ परियोजनाका जिल्ला सल्लाहकार प्रमोदलाल श्रेष्ठले भने, ‘घरघरमा बनेका धाराले जिल्लामा चलेको पूर्ण सरसफाइ अभियानलाई समेत प्रभावकारी बनाउन मद्धत मिल्नेछ ।’
कान्तिपुर दैनिकबाट ।


1188 पटक हेरिएको 

