सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ५ र ६ को सीमानामा पर्ने खोलाखोल्सीमा फोहोर फाल्न नदिने भएको छ । नयाँ बजार क्षेत्रको विकास, सवारी तथा ढल व्यवस्थापन र खानेपानी आपूर्ति लगायत नागरिकको जनजीविकासँग सरोकारको विषयमा खबरदारी गर्ने उद्देश्यले गठित संघर्ष समितिले खोलामा फोहोर फाल्दा वातावरणमा समेत प्रत्यक्ष असर पर्ने र फोहोरले खोला थुन्दा बाढी तथा पहिरोको जोखिम समेत हुने भएकाले खोलामा फोहोर फाल्न नदिने निर्णय गरिएको हो ।
यसअघि बजारबासी तथा नगरपालिकाले संकलन गरेको फोहोर समेत खोलामा विसर्जन गर्दै आएको थियो ।
समितिले बजारक्षेत्रको वडा नं. ४ र ५ बाट साप्ताहिक रुपमा फोहोर संकलन हुँदै आएकोमा वडा नं. ६ को नयाँ बजार तथा जेरो पोइन्ट क्षेत्रमा समेत फोहोर संकलन गरी व्यवस्थापन गर्न नगरपालिकाको कार्यालयमा माग गर्ने निर्णय गरिएको संघर्ष समितिका संयोजक तार्देन शेर्पाले जानकारी दिनुभयो ।
खानेपानी तथा ढल व्यवस्थापनका लागि बारम्बार वडा कार्यालयमा माग गर्दा समेत बेवास्ता गरेकाले नगर कार्यपालिकामै माग गर्ने निर्णय गरिएको संयोजक शेर्पाले जानकारी दिनुभयो ।
वडा अध्यक्षको दादागिरी विरुद्ध स्थानीय जुटे
सोलुदुधकुण्ड नगरपालिका ६ नं. वडा कार्यालयले जेरो पोइन्ट तथा नयाँ बजार क्षेत्रमा गाडी राख्न नदिने निर्णयको डटेर प्रतिकार गर्ने र सवारी आवागमनमा बाधा नपुग्ने गरी बजारक्षेत्रकै बासिन्दाले पार्किङको व्यवस्था मिलाउने भएको छ ।
यसअघि नयाँ बजार र जेरो पोइन्ट क्षेत्रमा बजार बिस्तार हुँदै गएपछि वडा अध्यक्ष राम कुमार श्रेष्ठले आफ्नै घर अघिल्तिर जीप पार्किङ गर्न यातायात व्यवसायीलाई धम्काउने, जरीवाना तिराउने, बोर्ड हटाउने, ट्राफिक प्रहरी परिचालन गरी गाडीको हावा खुस्काउने, रकम असुल्ने लगायतको काम गर्दै आएका थिए ।
दोर्पूमा सारिएको जीप पार्क यात्रुलाई असुविधा भएपछि हप्ता दिन पनि टिकेन । त्यसपछि पुरानै स्थानमा सारिएको पार्कमा फेरि वडा अध्यक्ष श्रेष्ठको आँखा लागेपछि उनको ठाडो आदेशमा नयाँ बजार तथा जेरो पोइन्ट क्षेत्रबाट जीप हटाएर सल्लेरी बसपार्कमा मात्र पार्किङ गर्न दिने नियम बनाएको हो ।
जेरो पोइन्ट तथा नयाँ बजारमा जीप पार्किङ गर्न नदिने वडा अध्यक्ष रामकुमार श्रेष्ठको ठाडो आदेशलाई ट्राफिक प्रहरीले सघाउदै आएका छन् ।