महोत्तरी : महोत्तरीको गौशालाका ७० वर्षीय जासर राय १६ वर्षको उमेरमा बजार आएको सम्झन्छन् । गौशाला बजारमा ५४ वर्षअघि दूध बेचन आएको उनी सुनाउँछन् । एक रुपैयाँमा पाँच सेर दूध बिक्री गरेका उनी भन्छन्, ‘उहिले हाटमा साना छाप्रा थिए । गर्मीमा हाटको दूबोमा गम्छा ओछ्याएर थकाइ मारिहाल्थें ।’
उनका अनुसार अहिले बजारमा आकाश छुने महल बनेका छन् तर गम्छा ओछ्याएर एकछिन सुस्ताउने ठाउँ छैन । जताततै फोहर छ । नाक थुनेर बजार प्रवेश गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘फोहोरको डंगुरमा सुँगुर चर्छन्, नगरपालिका टुलुटुलु हेरेर बस्छ ।’
२०५९ सालमा गौशाला नगरपालिकाको छिमेकी बर्दिबासमा पानीको चरम अभाव थियो । जुन समय गौशाला बजार ५२ लाखमा ठेक्का लाग्थ्यो । अहिले बर्दिबासमा खानेपानी समस्या समाधान भयो, खानेपानी उपभोक्ता संस्थामा महसुल तिरेको जनताको ३ करोड बचत छ । गौशाला बजार यसपटक १ करोड १३ लाखमा ठेक्का लागेको छ तर बजारको अवस्था झनै दयालाग्दो छ ।
उद्योग वाणिज्य संघ गौशालाका सचिव उदयचन्द्र झा भन्छन्, ‘हिजो विकासको गति पक्रेको बर्दिबास बजारमा नमुना स्टल बन्यो तर गौशाला बजारमा न खानेपानी छ न त शौचालय व्यवस्था । ढल सडकमै बग्छ ।’
गौशालाका मेयर शिवनाथ महतोले चुनावका बेला भनेका थिए, ‘तीन महिनामा गौशालालाई सुन्दर बनाउँछौं ।’ तर, चुनाव जितेको ११ महिना बित्दा पनि गौशाला अव्यवस्थित नै छ ।
‘नेताहरू खुट्टा तानातानमै व्यस्त छन्’, स्थानीय युवा रविन राउत भन्छन्, ‘नाला जाम छ । ढल बाटोमै बग्छ । नाक थुनेर हिँड्दा वाक्क लागिसक्यो । नगरपालिकाले बजारको वास्ता गर्दैन । यसले रोग फैलिन्छ ।’
पञ्चायतकालमै पक्की भवनमा पञ्चायत कार्यालय सञ्चालनमा थियो । जुन भवन अहिले दिसापिसाब गर्ने ठाउँ बनेको छ । बजारमा रहेका दुई शौचालयमा भने भोटे ताल्चा झुन्ड्याइएका छन् । व्यवस्थापन अभावमा शौचालय प्रयोगविहीन रहेको जनाइएको छ । ‘पुरुष त कुनै चेपमा गएर पिसाब गरिहाल्छ तर महिलालाई समस्या हुन्छ’, स्थानीय जगरनाथ महतो भन्छन्, ‘बजार आउने क्रेता तथा बिक्रेतालाई खानेपानीको पनि उस्तै समस्या छ ।’
गौशाला पुग्नेहरू फोहोरको डंगुरनजिकै होटलमा झिंगा भन्किएको खाना, खाजा खान बाध्य छन् । यहाँ सोमबार र बिहीबार बजार लाग्ने गर्छ । प्रतिबजार करोडभन्दा बढी कारोबार हुने यो बजारमा हजार पसल छन् । बजारमा भारतसम्मका व्यापारी आउँछन् । नगरपालिकाले करोडभन्दा बढी राजस्व बजारबाट उठाउँछ तर बजारको उचित व्यवस्थापनतिर ध्यान दिएको छैन ।
‘वर्षातमा पानीले सरसामान भिजाउँछ’, व्यापारी जगदीशप्रसाद गुप्ता भन्छन्, ‘प्रचण्ड घाम लाग्दा तल ढलान गरेको पक्काले पोल्छ । माथिबाट घामले सेक्छ ।’
स्थानीयका अनुसार माछा बजारमा बनाइएको स्टल पनि प्रयोगमा छैन । तरकारी बजारमा स्टल छैन । व्यापारीका सरसामान भण्डारण गर्न गोदाम छैन । सडकमै बजार लाग्छ । ‘नगरपालिकाले बजारबाट करोडौं रुपैयाँ उठाउँछ’, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम गिरी भन्छन्, ‘बजार व्यवस्थित गर्न नगरसँग माग राख्छौं, हाम्रो कुरा सुनिँदैन ।’
व्यापारीले बजार व्यवस्थान गर्न चासो नदिएको गौशालाका मेयर शिवनाथ महतोको भनाइ छ । उनका अनुसार व्यापारीले फोहोर जथाभावी फाल्ने गरेकाले समस्या भएको छ । ‘बजार व्यवस्थापन गर्न योजना बनाएका छौं’, उनी भन्छन्, ‘तर, व्यापारीले सहयोग गर्दैन, कुरा मात्र काट्छन् ।’ फोहोर फालिदिने गरेकाले नाला जाम हुने गरेको उनको भनाइ छ । ‘नगर प्रहरी भर्ना गराउन लागेका छौं’, उनी भन्छन्, ‘त्यसपछि बजार व्यवस्थानमा कदम चाल्छौं ।’


1073 पटक हेरिएको 

