काठमाडौ : जल तथा ऊर्जा आयोगको सचिवालयले कमला बेसिन विकास रणनीति तयार पार्ने भएको छ । कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापनका लागि आगामी एक बर्षभित्र बेसिनको रणनीति तयार पारिने भएको हो । आगामी २०७६ को जेठ मसान्तभित्र कमला बेसिन विकास रणनीति तयार पार्ने गरी अध्ययन अघि बढेको ऊर्जा आयोग सचिवालयका सिनियर डिभिजनल इन्जिनियर डा. महेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
कमला बेसिन विकास रणनीतिका प्रावधान
कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापन अन्र्तगत मुख्य गरी जीवन र पर्यावरणीय गुणस्तर सुधार गर्ने, उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने, खानेपानीको वर्तमान व्यवस्थापनमा सुधार ल्याउने लगायत विषयमा केन्द्रित भएर अध्ययन हुने जलस्रोत विकास संस्थाका उपाध्यक्ष एवं जलस्रोत विज्ञ सोमनाथ पौडेलले जानकारी दिनुभयो ।
यस्तै कमला बेसिनमा पानीको कारण कृषि, जीविकोपार्जन र बसाईसराई, भुमि र सिञ्चाई, खानेपानी स्वास्थ्य र सरसफाइ, भुसंरक्षण, जल उत्पन्न प्रकोप लगायतका मुद्दामा अवसर, चुनौती र अवको मार्गबारे समेत अध्ययन गर्ने लक्ष्य राखिएको छ ।
रणनीति अन्तगर्त जलस्रोतको उपयोगहरूको नियमहरू निर्माण गर्नुका साथै महिला र पुरुषमा समानता, कमजोर र सीमान्तकृत प्रभावितहरूको निर्णय प्रकृयामा अभिवृद्धि गर्ने लक्ष्य छ । सरोकारवालाहरूको सहभागितामा योजना तर्जुमा, तथ्यांक संकलन र यसको परिदृष्य मुल्यांकनको समीक्षा गर्ने, बेसिनको लक्ष्य र मार्ग दिशाहरूको पहिचान गरी बेसिन विकास रणनीति तयार गर्नेछ ।
ऊर्जा आयोगको सचिवालयका सिनियर डिभिजनल इन्जिनियर डा. श्रेष्ठका अनुसार आयोगले कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापनलाई सुधार र सुरक्षित बनाई प्रभावित जनसंख्याको जीवन र जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्य राखिएको छ ।
रणनीति तयार गर्नका लागि कमला बेसिनमा पर्ने सिन्धुली, उदयपुर, धनुषा र सिरहाका कमला नदीबाट प्रभावित स्थानीय निकायका जनप्रतिनीधि तथा सरोकारवालाहरूसँग सुझाव लिने कार्य समेत भईरहेको जलस्रोत विकास संस्थाका सदस्य एवं अध्ययन समूहका सदस्य बशिष्ठ अधिकारीले जानकारी दिनुभयो ।
जल तथा ऊर्जा आयोगको सचिवालय र द कमनवेल्थ साइनटिफिक एण्ड इण्डस्ट्रिज रिसर्च अर्गनाइजेशन (अष्ट्रेलिया) को सहयोगमा कमला बेसिन विकास रणनीति तयार गर्न लागिएको हो । यसका लागि परामर्शदाता जलस्रोत विकास संस्था र पोलिसी इन्टरपे्रनर्स इनकर्पोरेटले अध्ययन गरिरहेको छ ।


1383 पटक हेरिएको 

