कास्की : देशभित्रै स्वच्छ पानीको हाहाकार भइरहेका बेला खानेपानीमन्त्री बिना मगरले भने नेपालको पानी विदेशमा बेच्ने दिवास्वप्न देखाउनुभएको छ । पोखराको मादी क्षेत्रमा निर्मित शवदहन गृह, प्रतिक्षलय र शौचालय समुदायलाई हन्तान्तरण गर्दै उहाँले नेपालको हिमनदीको पानी विदेशमा एभरेष्ट वाटरको नामले बेचिने महत्वकांक्षा सुनाउनुभयो ।
मन्त्री मगरले ग्ल्यासियरको पानी बेच्ने गरी योजना तयार गर्दै गरेको सुनाउँदै भन्नुभयो ‘हाम्रो हिमालबाट बगेको ग्लेसियर वाटर महत्वपूर्ण र सबैभन्दा महंगो छ’
नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तराष्ट्रिय व्यापारको संभावनाबारे अध्ययन गरिरहेको बताउँदै उहाँले ‘एभरेष्ट वाटर’को नामबाट त्यो पानीलाई अन्तराष्ट्रिय व्यापार गरिने दाबी गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले नेपाल खानेपानी स्थान पोखरा महानगरपालिकालाई दिन आग्रह गर्नुभयो । उहाँले संघीय सरकार मातहतमा खानेपानी संस्थान हुँदा पोखराबासीले सफा पानी पिउन नपाएको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा नेपाल खानेपानी संस्थान तथा पोखरा महानगरपालिकाको सहयोगमा करिब ३५ लाख लागतमा शवदहन गृह, प्रतिक्षलय र शौचालय निर्माण गरिएको हो ।
सो अवसरमा मन्त्री मगरले बृक्षारोपण समेत गर्नुभयो ।



1375 पटक हेरिएको 

