चितवन : भरतपुर खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको महसुल नतिर्ने सरकारी कार्यालय र केही ठूला व्यवसायीको खानेपानीको लाइन काट्ने तयारी गरेको छ । बक्यौता तिर्न बाँकी रहेका जिल्ला मालपोत कार्यालय, जनस्वास्थ्य कार्यालय, जिल्ला वन, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला अदालत, सिंचाइ कार्यालय, आँखा अस्पताल, नेपाल ट्रष्ट, चितवन माध्यमिक विद्यालय, भरतपुर महानगरपालिका वडा नम्बर ८ को कार्यालय र मातृशिशु कार्यालयको खानेपानी लाइन काट्ने तयारी गरेको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताउनुुभयो ।
ती कार्यालयको मात्रै ११ लाख रुपैयाँ महसुल बक्यौता रहेको कार्यकारी निर्देशक दाहालले बताउनुुभयो । ‘बक्यौता समयमै नतिर्ने ग्राहकलाई पत्र काटेर ताकेता गरेको छ, ताकेता गर्दा पनि तिरेनन् भने लाइन काट्दै जाने योजना बनाएका छौं ।’ उहाँले भन्नुुभयो ।
आर्थिक वर्ष ०७४/७५ सम्ममा एक करोड ३५ लाख एक हजार २ सय रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको बोर्डले जनाएको छ । ५० हजारदेखि १ लाख रुपैयाँसम्म महसुुल बक्यौता भएका ६ जना ग्राहक रहेको कार्यकारी निर्देशक दाहालले बताउनुुभयो ।
साढे १ करोड घाटा
भरतपुर खानेपानी व्यवस्थापन बोर्डले आर्थिक वर्ष ०७४/७५ मा मात्र १ करोड ५९ लाख ४२ हजार ३ सय ७२ रुपैयाँ घाटा व्यहोरेको छ । आम्दानीको तुलनामा खर्च बढी भएपछि बोर्डलाई घाटा भएको हो । आर्थिक वर्ष ०७४/७५ मा १० करोड १७ लाख ९८ हजार २८ रुपैयाँ आम्दानी गरेको कार्यालयले ११ करोड ७७ लाख ४० हजार ४ सय खर्च गरेको लेखा प्रमुख कृष्ण भट्टले जानकारी दिनुुभयो ।
खर्चमध्ये ६५ लाख २२ हजार ५ सय रुपैयाँ अनुदानबाट प्राप्त भएको भट्टले बताउनुुभयो ।


1201 पटक हेरिएको 

