काठमाडौ १२ चैत्र । काठमाडौको कोटेश्वर चोकमा घुम्ती शौचालय लेखिएको एउटा शौचालय छ । घुम्ती नाम भएपनि कोटेश्वर चोकबाट चलमल नगरेको बर्षौ भइसकेको छ । टायर पङ्कचर भएपछि गुडाउन नमिल्ने भएकाले एकैठाउँमा राख्नुपर्ने बाध्यता रहेको शौचालयको रेखदेख गर्ने अर्जुन थापा (नाम परिवर्तन) ले बताउनुभयो । ‘म त पैसा उठाउने सरसफाइ गर्ने मात्र हो, ठेकेदार अर्कै हुनुहुन्छ टायर पङ्कचर भएकाले यही राखिरहनुपरेको हो’ उहाँले भन्नुभयो ।
हेर्नुहोस् यो भिडियो :
दिसापिसाबको अव्यवस्थित विसर्जन
घुम्ती शौचालय एकै ठाउँमा राखेर सञ्चालन गरेको मात्र होइन, शौचालयमा जम्मा हुने दिसापिसाबको सही विसर्जन नहुँदा दुर्गन्ध फैलिएको छ । शौचालयबाट संकलित दिसापिसाबलाई ठूला ठूला ट्यांकमा जम्मा गरेर राखिएको छ ।
हप्ता दिनसम्म जम्मा भएको दिसापिसाबलाई ट्याङ्कर बोलाएर पठाउने गरिएको र ट्याङ्कर सञ्चालकले कहाँ विसर्जन गर्छ थाहा नभएको शौचालयको रेखदेख गर्दै आउनुभएका थापाले बताउनुभयो । अनियन्त्रित तरिकाले विसर्जन गर्दा वातावरण प्रदुषण भैरहेको र यो भन्दा फरक उपाय पनि नभएको उहाँले बताउनुभयो ।
दुर्गन्ध हटाउन डिजेल
जत्ति धेरै पानी प्रयोग ग¥यो त्यत्ति नै बढी फोहोर पानी हुने र यसको व्यवस्थापनमा खर्च बढ्ने भएकाले पानी हालेर सफा राख्नुभन्दा पनि दुर्गन्ध हटाउन जोडल दिने गरेको छ । यसका लागि डिजेलको प्रयोग गर्दै आएको र मासिक २० लिटर डिजेल खर्च हुने सञ्चालक थापाले बताउनुभयो ।
राम्रो आम्दानी
मानिसको धेरै चहलपहल हुने कोटेश्वर चोकमा दैनिक ४ देखि ५ सय जना दिसापिसाब गर्ने मानिस हुन्छन् । उनीहरुबाट दैनिक २ हजारसम्म संकलन हुन्छ । चर्पीबाट हुने मासिक ६० हजार आम्दानी मध्ये ३० हजार रुपैयाँ ठेकेदारलाई बुझाउनुपर्छ ।
बाँकी ३० हजारबाट शौचालय सञ्चालन खर्च (साबुन, पानी, फिनेल, डिजेल, विसर्जन खर्च) छुटाएर मासिक २० हजार रुपैयाँ आम्दानी हुन्छ । थापा भन्नुहुन्छ ‘चार जनाको परिवारलाई काठमाडौमा खान बस्न पुग्छ ।’