तेह्रथुम : प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो सहितको टोली तेह्रथुमको खडेरीग्रस्त क्षेत्र छथर गाउँपालिकाको पञ्चकन्या पुुग्दा स्थानीय लाखबहादुर लिम्बुले भन्नुुभयो ‘पेटभरि पानी पिउन पाऊँ, तिर्खाले तड्पिएर मर्नु नपरोस्, सडक, बिजुली, विद्यालय र अरू विकास बिस्तारै गरे हुन्छ ।’
इन्द्रबहादुर आङबोको मात्र होइन, सारा गाउँलेको साझा माग थियो, पानी चाहियो, पानी भए अरु समस्या आफैले समाधान गरौंला ।’
‘खडेरीले अन्नपात सबै सुक्यो, गाउँले धमाधम बसाइँ हिंडिरहेका छन्, पर्याप्त पानी भए जन्मभूूमि त्याग्न पर्दैनथ्यो ।’ स्थानीय युवा चीनकुमार लिम्बुले भन्नुुभयो ।
तेह्रथुमको छथर गाउँपालिकाको पञ्चकन्या र फाक्चामारा र पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिकाका अधिकांश वडा मध्य बर्षामा पनि खानेपानीको समस्या झेलिरहेका छन् ।
टोलीले दुई दिन लगाएर छथर गाउँपालिकाको सुक्खा क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीयसँग छलफल गरेको हो ।
एक नम्बर प्रदेश मन्त्रिपरिषद् बैठकले गत भदौ ७ गते मन्त्री आङ्बोको नेतृत्वमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी, पाँचथरका सांसद प्रतापप्रकाश हाङ्गाम, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद महाशाखा प्रमुख रवीन्द्र आचार्य सहितको समिति गठन गरेको थियो ।
समितिले १५ दिनभित्र स्थलगत अनुगमन निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।


1254 पटक हेरिएको 

