घोल्तडामा खानेपानीले खुसी

डोटी : १ सय ६७ मिटर तलबाट लिफ्ट गरी गाउँमा खानेपानी उपलब्ध भएपछि दिपायल सिलगढी–५ घोल्तडाका बासिन्दामा खुसियाली छाएको छ । खानेपानीका लागि वर्षौंदेखि सेती नदीमा निर्भर रहेका ९२ परिवारमा खुसी छाएको हो ।

दिपायल सिलगढी नगरपालिकाले १५ लाखको लगानीमा लिफ्ट प्रणाली जडान गरी भूमिगत पानीको परीक्षण गरेको थियो । परीक्षण सफल भएपछि बुधबार खानेपानी आयोजनाको उद्घाटन गरिएको नगरप्रमुख मञ्जु मलासीले बताइन् । नेकपाका नेता तथा पूर्व गृह तथा रक्षामन्त्री भीम रावलले योजनाको उद्घाटन गरेका हुन् ।

घर–टोलमा धारा विस्तार गर्न ५० हजार घनमिटर क्षमताको रिजर्भ ट्यांकी बनाउन सुरु भएको नगरप्रमुख मलासीले जानकारी दिइन् । यसै आर्थिक वर्षभित्र ९२ वटै घरधुरीमा खानेपानीको धारा जडान गर्ने लक्ष्य नगरपालिकाको छ । घोल्तडामा लिफ्टबाट निकालिएको खानेपानीमा प्रतिसेकेन्ड ८ लिटर पानी निस्केको छ ।

अहिले घोल्तडास्थित दुधेश्वर आधारभूत विद्यालय नजिक लिफ्ट जडान गरी सोझै पानी पिउने व्यवस्था गरिएको वडाध्यक्ष मदन भण्डारीले बताए । ३ लाखको श्रमदानसहित थप १५ लाख लगानी गरेर रिजर्भ ट्यांकी, पाइप र धाराहरू जोड्न लागिएको छ ।

‘अहिले खेतीपाती लगाइएकाले पाइप बिछ्याएका छैनौं,’ वडाध्यक्ष भण्डारीले भने, ‘दसैंसम्म घरघरमा पानी पुर्‍याउने योजना छ ।’ रिजर्भ ट्यांकी निर्माणको काम करिब आधा भइसकेको छ । नेकपाका नेता रावलले काकाकुल बस्तीमा खानेपानीको प्रबन्ध भएकोमा खुसी लागेको बताए । ‘घोल्तडा असाध्यै मनोरम र ऊर्वरभूमि हो, स्थानीय तहको निर्वाचन हुनुअघि पिउने पानी ल्याउने प्रतिबद्धता गरेका थियौं,’ उनले भने, ‘त्यो पूरा भएको छ, अब स्थानीयको समृद्धिमा सबैले हातेमालो गर्न जरुरी छ ।’

सेती नदीको धमिलो पानी पिउन बाध्य भएकाले टाइफाइड, जन्डिस, झाडापखाला तथा पत्थरीका बिरामीहरू घोल्तडामा बढी रहेको स्थानीय वीरबहादुर भण्डारीले बताए । केही महिनाअघि पानी भर्ने क्रममा भीरबाट खसेको ढुंगा लागेर स्थानीय महिलाको मृत्युसमेत भएको थियो ।

दिपायल सिलगढी नगरपालिकाले घोल्तडासहित नगरका ३ स्थानमा लिफ्टबाट खानेपानी आयोजना सुरु गर्न लागेको नगरप्रमुख मलासीले बताइन् । तीन वटै ठाउँमा परीक्षण सफल भएको छ । पछिल्लो समय डोटीमा स्थानीय तहले लिफ्ट जडान गरी पानी परीक्षण कार्यलाई जोड दिएका छन् । डाँडापाखामा उपकरणको सहयोगबाट जमिनको भित्री तहबाट भूमिगत पानी निकाल्न गरिएको परीक्षण सफल भएपछि खानेपानीका लागि काकाकुल भएका बस्तीमा पनि माग बढ्न थालेको छ ।

कान्तिपुर दैनिकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार