शुक्लागण्डकी नगरलाई पूर्ण सरसफाइ र वातावरणमैत्री बनाईने

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । २४ लाख रुपैयाँको लागतमा शुक्लागण्डकी नगरपालिका–५ स्थित गल्छिना भन्दा तल व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्र केही दिनभित्रै सञ्चालनमा आउनेछ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा नै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउने नगरसभाबाटै निर्णय गरेको थियो ।

नगरपालिकाले आगामी चार वर्षभित्र पूर्ण सरसफाइ र वातावरणमैत्री नगर बनाउने लक्ष्य लिएको छ । लक्ष्य प्राप्तिका लागि नगर क्षेत्रभित्र रहेका टोल विकास संस्थालाई सरसफाइ र वातावरणमैत्री गतिविधिमा टेवा पु¥याउन तालिम दिइनेछ । त्यस्तै वातावरण र सरसफाइको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने टोललाई प्रत्येक वर्ष पुरस्कार र सम्मानको व्यवस्था मिलाइने प्रवक्ता कुमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्वजनिक निजी साझेदारी मार्फत सरसफाइ र वातावरण सुधारका कार्यक्रम सञ्चालन गरिनेछ ।
शुक्लागण्डकी नगरपालिकाले जनसहभागितामा सफा र सभ्य नगरपालिकाका रूपमा विकास गर्ने योजना बनाएको छ । नगरपालिकाले फोहोरलाई मोहोर बनाउने सचेतना कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार