काठमाडौ : चन्द्रागिरी नगरपालिका स्थित महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाइ आयोजना निर्माण शुरु भएको छ । आयोजनाको प्रथम चरणको उदघाटन वाङमय शताब्दी पुरुष, संस्कृतिविद् डा. सत्यमोहन जोशीले गर्नुभयो । आर्थिक बर्ष २०७६/७७ मा निर्माण सम्पन्न हुने गरी ३२ करोड ६२ लाख ७२ हजार ४६ रुपैँया लागतमा सहलगानी आयोजना सुरु भएको हो ।

क्षेत्रीय अनुगमत तथा सुपरीवेक्षण कार्यालयका सिनियर डिभिज्नल इञ्जिनियर हरि प्रसाद तिमिल्सिनाका अनुसार यो आयोजना काठमाडौ उपत्यकाकै सबैभन्दा ठुलो आयोजना हो । आयोजना सञ्चालनका लागि नेपाल सरकारले ७० प्रतिशत र महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३० प्रतिशत लागत व्यहोर्नेछन् ।
आयोजनाले चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ का २ हजार ३४२ घरमा विगत ८ वर्षदेखी निजीधारा मार्फत पानी वितरण गर्दै आएको छ ।

शनिबार आयोजित कार्यक्रममा संघीय सांसद् अञ्जना विशंखे, प्रदेश सांसद्हरु रमा आले मगर, पुकार महर्जन, बेलीमाया घले, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, विभिन्न वडाका वडाध्यक्षहरु, क्षेत्रीय अनगुमन तथा सुपरिवेक्षण कार्यालयका अधिकारीहरु, विभिन्न खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरु एवं उपभोक्ताहरुको उपस्थिति थियो ।


1640 पटक हेरिएको 

