महसुल बृद्धिको विरोधमा खानेपानी कार्यालय घेराउ, बढेको महसुल घटाउन ६ दिनको अल्टिमेटम

संखुवासभा : संखुवासभाको बृहत् खाँदबारी सहरी साना खानेपानी उपभोक्ता समितिले खानेपानीमा महसुल वृद्धि गरेपछि उपभोक्ताले खानेपानी कार्यालय घेराउ गरेका छन् । खाँदबारी नगरपालिकामा वितरण गरिदै आएको पानीको महसुल एक्कासी ५३ प्रतिशत वृद्धि भएपछि उपभोक्ताले खानेपानी कार्यालय घेराउ गर्दै महसुल बृद्धि तत्काल खारेज गर्न माग गरेका छन् ।

समितिले न्यूनतम ५ युनिट सम्मको प्रति महिना १ सय ५० बाट २ सय ३० बढाएको हो । ६ देखि १० युनिटसम्म प्रति युनिट ४५ रहेकोमा हाल ७० रुपैयाँ कायम गरिएको छ । यस्तै ११ देखि २० युनिट सम्मको प्रति युनिट १ सय ५ पुर्‍याएको छ । यसअघि प्रतियुनिट ७२ रुपैयाँ लिइँदै आएको थियो ।

‘पहिलेकै महसुल बढी भएको र समितिले आफू खुसी शुल्क बढाएको संघर्ष समितिका अध्यक्ष योगराज खडकाले बताउनुभयो ।आयोजनाको महसुल गत साउनदेखि लागू हुने गरी वृद्धि गरेको हो ।

 

महसुल घटाउन १३ बुँदे माग पत्र सहित ६ दिनको अल्टिमेटम

उपभोक्ताले बृद्धि भएको भएको खानेपानीको महसुल घटाई पहिलेकै दर कायम गराउन १३ बुँदे माग पत्र सहित ६ दिनको अल्टिमेटम दिएको छ ।

महसुल घटाउनुपर्ने, न्यूनतम युनिट बढाउनुपर्ने, नियमित र स्वच्छ पानी दिनुपर्ने जस्ता माग राखेका संघर्ष समितिका अध्यक्ष खडकाले बताउनुभयो । तर नगर विकास कोषको ऋण तिर्नुपर्ने भएकाले पनि कुनै हालतमा महसुल घटाउन नसकिने समितिका अध्यक्ष नरेन्द्र राईले बताउनुभयो । आयोजना निर्माणको चरणमा पटक पटक डिजाइन परिवर्तन हुँदा २५ प्रतिशत खर्च बढेकाले नगर विकास कोषसँग ऋण सम्झौता गर्दा शुल्क वृद्धि गर्ने सहमति अनुसार नै महसुल बृद्धि गरिएको उहाँले बताउनुभयो ।

उपभोक्ता समितिले खाँदबारी नगरपालिकाको १ देखि ९ वटा वडा, चिचिला गाउँपालिकाको चिचिला बजार क्षेत्र र कुवापानीका करिव दुई हजार ५ सय धुरीलाई पानी वितरण गरेको जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार