महोत्तरी : प्रदूषित पानीका कारण जलेश्वर नगरपालिका १२ स्थित सीमावर्ती नैनहीमा झाडापखालाको प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि धान खेतको भुरा माछा खानाले नैनहीको मुस्लिम टोलमा २ सातादेखि झाडापखाला फैलिएको अनुमान गरिएको थियो ।
जिल्ला स्वास्थ्य प्रमुख डा. राजिव झाका अनुसार प्रकोप फैलिएपछि घटनास्थल पुगेको इपिडर्मियोलोजी रोग तथा नियन्त्रण शाखाको टोलीले नैनहीको ५ ठाउँबाट पानीको नमुना काठमाडौं लगेको थियो । टेकुस्थित नेस्नल पब्लिक हेल्थ ल्यावमा परीक्षण गर्दा पानीमा कोलिफर्म जीवाणु फेला परेको रिपोर्ट प्राप्त भएकोले सोही कारण झाडापखाला फैलिएको डा. झाले जनाए ।
रिपोर्टपछि शुक्रबार प्रशासन कार्यालयमा प्रजिअ उमेश ढकालको अध्यक्षतामा बसेको बैठकले नैनहीमा स्वास्थ्य शिक्षा परिचालन गर्न तथा स्वच्छ पानी उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा सहभागी जिल्ला स्वास्थ कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालयलगायतले प्रकोपग्रस्त बस्तीमा कम गहिराइको हैन्ड पाइपबाट पानी उपलब्ध हुनाले कोलिफर्म जीवाणु फेला परेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
पुराना हैन्ड पाइप विस्थापित गरी स्वच्छ पानीको व्यवस्था मिलाउन बैठकमा निर्णय भएको जनाइएको छ । यसबीच झाडापखालाबाट नैनहीमा थप एक महिलाको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार ६० वर्षीया आइसा खातुनको मृत्यु भएको हो । योसमेत नैनहीमा झाडा पखालाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि झाडा पखालाले ४ वर्षीया खुशवु खातुनको मृत्यु भएको थियो ।
नैनहीको स्वास्त्य शिविरमा भर्ना भएकी आइसाको अवस्था गम्भीर भएपछि अञ्चल अस्पताल जनकपुर पठाइएको र त्यहीं उपचारका क्रममा उनको मृत्यु भएको हो । जन स्वास्थय प्रमुख डा. राजिव झाका अनुसार झाडापखालाले च्यापेर शिविरमा भर्ना गराइएकी खातुन यसअघि नै मुटु र श्वासप्रश्वासको समस्याले समेत पीडित थिइन् ।
अहिलेसम्म नैनहीमा झाडापखालाबाट २ सय ५० बढीको उपचार भइसकेको छ । गाउँकै मदरसामा राखिएको स्वास्थ्य शिविरमा बिरामीको उपचार चलिरहेको छ । जनस्वास्थ्य निरीक्षक संतोष ठकुरका अनुसार शिविरमा बिरामी आउने क्रम अझै जारी छ ।


1092 पटक हेरिएको 

