भीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटाका पदमसिंह धामी विगत दुई दशक अघिदेखि घरभन्दा एक किलोमिटर पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्नुहुन्छ ।
विसं २०५८ मा यहाँ बसोबास गर्दै आउनुभका धामीले लामो समय बित्दा आफूले अझै पनि सहज रुपमा गाउँमा पानी नपाएको गुनासो गर्नुभयो ।
“यतिका वर्षसम्म हामीले खोलाको दूषित पानीले प्यास मेटाउँदै छौँ भन्दा सहजै पत्याउनु हुन्न होला” धामीले भन्नुभयो, “खोला सुक्दा पानीको समस्या हुन्छ । दैनिक घरमा एक जनाको समय पानी ढुवानीमै खर्च हुन्छ । ”
“अब त सिंहदरबार नै गाउँमा आएको छ भन्थे ।” धामीले भन्नुभयो, “यहाँ त सामान्य मौलिक अधिकारको पनि उपभोग गर्न पाएका छैनौँ ।” पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर उत्तरमा रहेको उक्त गाउँमा पानी मात्रै होइन, त्यहाँ शिक्षा, स्वास्थ्य, सडक, बिजुलीको सुविधा पनि छैन ।
निर्वाचनका बेला विभिन्न दलका नेताको देशलाई नै समृद्ध बनाउने नारा र आश्वसान धेरै सुन्यौँ । धामीले भन्नुभयो, “तर हामीलाई हिँड्ने गोरेटो बाटोसम्म सरकारले बनाइदिएको छैन ।” “शहरको विकास देखेर समृद्धिको गफ दिएर केही हँुदैन ।”
चार सयभन्दा बढी परिवार आश्रित पिल्लरीफाँटामा सरकारी उपस्थितिका नाममा एउटा प्राथमिक विद्यालय मात्रै छ । गाउँमा पानीको समस्या भएपछि संयुक्त दर्शन नेपाल नामक संस्थाले बोरिङ र सानो ट्याङ्की बनाउन सहयोग गरेको थियो ।
उक्त संस्थाको १७ लाख रुपैयाँ सहयोग र स्थानीयवासीको पाँच लाख रुपैयाँ बराबरको श्रमदानमा खानेपानीको ट्याङ्की निर्माण भएको छ । धामीले भन्नुभयो, “स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्षभन्दा बढी समय भइसक्दासमेत गाउँमा केही सहयोग भएको छैन ।”
“पानी तान्नसमेत जेनेरेटर चलाएको प्रतियुनिट ३० रुपैयाँ तिर्नुपर्ने भएकाले यसका लागि सोलार जडान गर्न वडा कार्यालयसंग गुहार मागेका छौँ ।” वैजनाथ खानेपानी उपभोक्ता समितिका सचिव मोहनप्रसाद भट्टले भन्नुभयो, “त्यै खोलाको पिउँदा विभिन्न प्रकारका रोग समेत लाग्ने गरेको छ । ” बोरिङबाट पानी तान्ने व्यवस्था भए पनि प्राविधिक कारणले विभिन्न समस्या आउने गरेको र बस्तीको १५० परिवारलाई मात्र पानी पु-याउन सकिएको उहाँको भनाइ थियो ।
निर्वाचनका बेला गाउँमा पुगेर नेताले खानेपानी, सिचाँइ, बिजुली बत्ती पु¥याउनले प्रतिबद्धता व्यक्त गरे पनि केही नपाएको स्थानीयवासीको गुनासो छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जिल्ला खानेपानी कार्यालयबाट पिल्लरीफाँटामा खानेपानीका लागि सर्वेक्षण भइरहेको बताउनुभयो ।
“पिल्लरीफाँटामा खानेपानी पु¥याउने योजना बने पनि कार्यान्वयन हुन सकेको छैन ।” उहाँले भन्नुभयो, “नगरपालिकाले केही मात्रामा भए पनि सहयोग गरेको छ ।” चालू आवभित्रै पिल्लरीफाँटामा बत्ती पु-याउने लक्ष्य नगरपालिकाले लिए पनि वन कार्यालयबाट प्रक्रिया मिलाउन अवरोध भइरहेको उहाँको भनाइ थियो ।


923 पटक हेरिएको 

