बाबरेको ४९ घरमा बालमैत्री धारा

दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरेमा ४९ वटा बालमैत्री धारा निर्माण गरिएको छ । पाका र बालबालिका दुवैले प्रयोग गर्न सहज हुने गरी ती धारा निर्माण गरिएको हो ।

सफा पानी कार्यक्रम अन्तर्गत एउटा विद्यालयमा खानेपानी धारा निर्माण र हात धुने ठाउँ समेत तयार गरिएको छ । वर्षौंदेखि धारा बने पनि बच्चा र ठूला व्यक्तिका लागि हुने गरी बनाएको थिएन । लुगा सुकाउनका लागि समेत छुट्टै ठाउँ भएपछि आफूलाई सजिलो भएको बाबरेका ८६ वर्षीय टहलबहादुर थामीले बताउनुभयो ।

सेवक नेपाल र स्थानीय साझेदार सामुदायिक विकास मञ्चको सहयोगमा खानेपानी धारा निर्माण गरिएको हो ।

बाबरेमा तीन आयोजना सम्पन्न

बाबरेमा मात्र तीन वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । तुँवापामा ९८ घरका ४४२ जना, चाल्सीपुटुङका ३४ घरका १६० जना र ठातीटोलका २८ घरका १२९ जना लाभान्वित भएका छन् ।

स्थानीयको सहभागितामा खानेपानी योजना र सरसफाइको कार्यक्रम सञ्चालन गरेको सेवक नेपालका कार्यक्रम प्रबन्धक प्रह्लाद तिमल्सिनाले जानकारी दिनुभयो ।

खानेपानी लिनकै लागि आधा घण्टाको बाटो धाउदै आएका बासिन्दा खानेपानी योजना पूरा भएपछि त्यो समय आय आर्जनमा प्रयोग गरिएको कालिञ्चोक गाउँपालिका–२ का वडाध्यक्ष नानी पाण्डेले बताउनुभयो ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले गाउँको विकास पूर्वाधार तयारीका लागि गाउँपालिकाले सबैसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले आफ्नो गाउँपालिकाभित्र सबै घरमा सफा पानीको धारा निर्माण गरिने बताउनुभयो । खानेपानी योजना निर्माणका लागि अमेरिकी अन्तर्राष्ट्रिय सहयोग विकास नियोग र मिभी नेदरल्याण्डले सहयोग गरेका छन् । ती आयोजना पूरा गर्न साढे ४६ लाख रुपैयाँ खर्च भएको छ ।

योजनाको दिगोपनाका लागि मर्मत संभार कोष र प्लम्बर तालिम समेत दिएको कार्यक्रम प्रबन्धक तिमल्सिनाले जानकारी दिनुभयो ।

आयोजना हस्तान्तरण

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको नेतृत्वमा स्थलगत अनुगमन गरी स्थानीयलाई आयोजना हस्तान्तरण गरिएको छ । प्रमुख पाण्डेले पानीको विकल्प पानी बाहेक अरु नहुने भएकाले स्थानीयले आफ्नै योजना सम्झेर प्रयोग गर्न आग्रह गर्नुभयो । यसअघि पनि बाबरेमै ५ वटा योजना पूरा भइसकेको छ । कार्यक्रम अवधि १ वर्ष बाँकी रहेकाले अन्य योजना समेत बन्न सक्ने सेवक नेपालका अधिकारीले जानकारी दिएका छन् ।

सेवक नेपालले दोलखाको साविकको १४ वटा गाविसमा खानेपानी तथा सरसफाइको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । स्थानीय तह कार्यान्वयन हुनु अघि सामुदायिक धारा निर्माण सुरु गरेको बाबरेमा अहिले स्थानीय सरकारले एक घर एक धाराको अभियान सुरु गरेका छन् ।

योजना सञ्चालित गाउँमा एकलासमा भएको घरमा समेत धारा निर्माण गरिएको सेवक नेपालका प्रबन्धक प्रह्लाद तिमल्सिनाले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार