भेरीको पानी वीरेन्द्रनगर ल्याउन डीपीआर तयार

सुख्खा क्षेत्र खानेपानी आयोजना मार्फत बनाइने

सुर्खेत : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले भेरी नदीको पानी लिफ्टिङ गरेर सुर्खेत उपत्यकामा ल्याउने भएको छ । पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिनुभयो ।

सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्न दुईवटा स्रोत पहिचान गरिएकोमा भेरीको पानी लिफ्टिङ गरी उपत्यकामा ल्याउन लागिएको हो ।

भेरी र झुप्राखोलाको दोभानदेखि पाँच सय मिटर उत्तरमा कुवा बनाई पम्पिङ मार्फत सुर्खेत उपत्यकामा पानी ल्याइनेछ । यसका लागि २ अर्ब ९१ करोड रुपैयाँ लागत अनुमान गरिएको देवकोटाले जानकारी दिनुभयो ।

‘भेरीको पानी आयो भने सुर्खेत उपत्यकामा सधैंका लागि खानेपानी अभाव टर्नेछ,’ उहाँले भन्नुभयो ‘यसका लागि सरकारले प्रक्रिया अघि बढाइसकेकाले ढिलो चाँडो काम सम्पन्न हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

नेपाल सरकारले उक्त कामका लागि सुख्खा क्षेत्र खानेपानी आयोजना मार्फत प्रक्रिया अघि बढाएको छ । चालु आर्थिक वर्षमा टेन्डर गर्नका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । भेरी किनारमा पानी प्रशोधन केन्द्र निर्माण गरी साढे ११ किलोमिटर लामो पाइपलाइनबाट अमृतडाँडामा पानी संकलन गरिने अध्यक्ष देवकोटाले बताउनुभयो।

प्रतिसेकेन्ड ३ सय ५० लिटरको बहावमा आउने भेरीको पानी अमृतडाँडास्थित रिजर्भाएर (ट्यांकी) मा खसालिनेछ । यसका लागि त्यहाँ ४० लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिनेछ ।

सोही ट्यांकीबाट सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको हालका १० वटा स्किमबाट पानी वितरण हुने देवकोटाले बताउनुभयो। संघीय सरकारले सहरी खानेपानी आयोजनाको ‘मोडेल’ बाट निर्माण गर्न लागेको यो आयोजना करिब ५ वर्षमा सम्पन्न हुनेछ ।

हाल सुर्खेत उपत्यकामा दैनिक प्रतिसेकेन्ड १ सय ४९ लिटर पानी उपलब्ध छ । सामान्य अवस्थामा दैनिक २९ दशमलव ५ लिटर प्रति सेकेन्ड पानी अपुग छ । ३३ हजार घरधुरी भएको उपत्यकामा अहिले करिब १६ हजार धारा वितरण गरिएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार