तनहुँ: महिनावारी हुँदा छात्राहरू विद्यालय गायल हुने क्रम बढेपछि तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई स्यानिटरी प्याड वितरण गरेको छ ।
महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएपछि सामाजिक उत्थान नेपालले कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने ८० छात्रालाई धुन मिल्ने स्यानिटरी प्याड वितरण गरेको हो ।
पोखरा डेज संस्थाद्वारा उपलब्ध गराइएको ६० हजार बराबरको स्यानिटरी प्याड सहितको झोला छात्रालाई हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष नोमा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्यानिटरी प्याड वातावरणमैत्री र तीन वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
‘महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुनाका साथै विद्यालय आएको समयमा महिनावारी भयो भने पनि कक्षा नै छाडेर जाने गरेकाले यस्तो उपाय अपनाएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार महिनावारी भएको समयमा किशोरीहरु तीन÷चार दिनसम्म पनि विद्यालय आउँदैनन् ।
कक्षा १० मा अध्ययनरत मूर्तिकला उपरकोटीले महिनावारी हुँदा लाजका कारण विद्यालय आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालय आएको समयमा महिनावारी भयो भने बिदा मागेर घर जाने गरेकी थिएँ तर अब भने त्यस्तो समस्या हुँदैन ।’
केही समयअघि मात्रै ब्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयका छात्रालाई पनि प्याड वितरण गरिएको थियो । ब्यास नगरपालिका–१ कै निर्मल माध्यमिक विद्यालय र कास्कीको सहारा आधारभूत विद्यालयमा पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष थापाले जानकारी दिनुभयो ।


1315 पटक हेरिएको 

