काठमाडौ : मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसीका आठ कर्मचारीलाई प्रहरीले पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाएको छ । सरकारलाई जानकारी नदिई आईतबार राती साढे ११ बजेको कतार एयर मार्फत भाग्न खोजेको थाहा पाएपछि उनीहरुलाई ठमेलबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त दरबारमार्ग संयुक्त टोलीले मेलम्ची आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचो सहित आठ जनालाई पक्राउ गरी मन्त्रालयलाई बुझाएको हो ।
आइतबार राति साढे १० बजे ठमेलस्थित रोयल पेङ्गुइन होटलबाट उनीहरूलाई समातेको हो । क्रिसमस मनाउन जाने बहानामा उनीहरू मेलम्ची खानेपानी अलपत्र पारेर आफ्नो देश फर्किन खोजेको प्रहरीले जनाएको छ ।
उनीहरूले ठमेलको काठमाडौं होटल बुक गरेपनि होटल पेन्गुइनमा बसेका थिए । इटालियन कम्पनी सिएमसीका कर्मचारीको गतिविधि शंकास्पद भएकाले उनीहरुलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाइएको दरबारमार्ग बृत्तका डिएसपी दानबहादुर मल्लले जानकारी दिनुभयो ।
सिएमसीका कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीसँगै खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर पुगेका थिए । प्रहरीले पक्राउ गरी कर्मचारीहरूलाई सामान्य सोधपुछ गरेको थियो।
सोधपुछका क्रममा प्रोजेक्ट म्यानेजर ग्रेचोले कम्पनी डुबेपछि देश फर्किन खोजेको बताएको मल्लले जानकारी दिनुभयो । ग्रेचोले दुई दिनदेखि काम छोडेर काठमाडौं आएको बताएका थिए।
सिएमसी इटालीको प्रसिद्ध निर्माण कम्पनी हो । सय वर्षभन्दा अगाडि स्थापित यो कम्पनीले मुख्यतः यातायात, खानेपानी तथा सिँचाई, बन्दरगाह, रेल्वेजस्ता भौतिक पूर्वाधार र परियोजनाहरूमा काम गर्दै आएको छ ।
सिएमसीले नेपाल लगायत अल्जेरिया, अंगोला, अर्जेन्टिना, साउदी अरेबिया, चीन,इजिप्ट, फिलिपिन्स, फ्रान्स हङकङ, भारत अमेरिका सिंगापुर दक्षिण अफ्रिका स्विडेन लगायत दुई दर्जनभन्दा बढी देशमा काम गर्दै आएको छ ।
केही दिनयता खानेपानी मन्त्रालयले सिएमसीका ठेकेदार भाग्न खोजेको भन्दै प्रहरीलाई सहयोग मागेको थियो । मेलम्ची खानेपानी विकास समितिका अनुसार इटालियन कम्पनीले दुई दिन अघिसम्म काम गरिरहेको जानकारी पठाइरहेको थियो ।
समितिका अनुसार मेलम्चीको सुरूङ ढलान एक किलोमिटर बाँकी छ । कंक्रिट लाइनिङको काम ९६० मिटर बाँकी छ । इन्टेकको काम पनि पूरा भएको छैन भने हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन ।
चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थिया । इटालियन कम्पनीले तीव्र गतिमा काम गरेको भनिए पनि समय-समयमा व्यवधान देखाउँदै आएको छ।
मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरू भएको हो । सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो । चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेपछि सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो ।
सरकारले मेलम्चीको पानी काठमाडौ ल्याउने मिति पटक पटक तोक्दै सार्दै आएको छ ।


2046 पटक हेरिएको 

