काठमाडौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । शिक्षा विभागले यस अघि नै सार्वजनिक गरेको कार्यविधि संघीय ढाँचा अनुसार संसोधन गरी मानव स्रोत विकास केन्द्रले (दोश्रो संस्करण, २०७५) सार्वजनिक गरेको हो ।
कार्यविधिलाई गत मंसिर १८ गतेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले संशोधन एवं अद्यावधिक गरेको थियो । स्रोत विकास केन्द्रले कार्यविधि जारी गरे पनि यसलाई स्थानीय तहले आवश्यक संसोधन वा अनुमोदन गरी सम्बन्धित स्थानीय तहका विद्यालयहरुमा लागु गराउन सक्ने व्यवस्था गरिएको छ ।
कार्यविधिमा विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता प्रबद्र्धनलाई स्तरीकृत गर्दै लैजान तारा पद्धति अपनाइएको जनाएको छ ।
८ वटा परिच्छेदमा विभाजन गरिएको कार्यविधिको परिच्छेद १ मा संक्षिप्त नाम र परिभाषा, परिच्छेद २ मा लक्ष्य, उद्देश्य तथा रणनीति, ३ मा विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता मापदण्ड, परिच्छेद ४ मा समिति सम्बन्धी व्यवस्था, परिच्छेद ५ मा स्वमूल्याङ्कन, बर्गीकरण र प्रमाणीकरण, परिच्छेद ६ मा क्षमता विकास तथा वित्तिय व्यवस्थापन, परिच्छेद ७ मा विभिन्न निकायहरुको भूमिका र परिच्छेद ८ मा विविध व्यवस्था गरिएको छ ।
विद्यालयमा सबै बालबालिकाहरुका लागि अनुकल हुने गरी खानेपानी, सरसफाइ तथा स्वच्छताका सूचक एवं मापदण्ड तयार गर्न, तयार गरिएको मापदण्ड कार्यान्वयनका लागि विधि, प्रक्रिया र पद्धतिका विषयमा सहजीकरण गर्न र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन, सरसफाइमा सुविधा र स्वच्छ वातावरण तयार गर्नका लागि उपलब्ध स्रोत साधनेको उपयोगमा विभिन्न निकायको भूमिकमा पहिचान एवं समन्वयका लागि सहजीकरण गर्ने उद्देशयले विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा तारा पद्धति लागु गरिएको केन्द्रका निर्देशक पदम सिंह बिष्टले जानकारी दिनुभयो ।
निर्देशक बिष्टले कार्यविधिको कार्यान्वयनबाट विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्धनका लागि सरकारी, संयुक्त राष्ट्र संघीय मिसन, गैर सरकारी, निजी क्षेत्र र नागरिक समाजका बीचमा रहेर लगिने कार्यक्रममा एकरुपता, समन्वय, सहकार्य र साझेदारीको भावना विकसित हुने बताउनु भयो ।
कार्यविधिमा थप्नुपर्ने विषय धेरै छन् : वक्ता
कार्यविधि लामो समयको प्रतिक्षापछि आएको र यसमा अझै निक्कै कुराहरु थप्न बाँकी रहेको सहभागीले प्रतिक्रिया दिएका छन् । सरसफाइ विशेषज्ञ नमस्तेलाल भूमी श्रेष्ठले कार्यविधि अत्यन्तै राम्रो भएपनि विद्यालय सरसफाइको क्षेत्रमा नेपालले हासिल गरेका नतिजाहरु, खानेपानी र स्वच्छतामा गरेका उल्लेख्य र नमुनायोग्य कार्यहरु कार्यविधिमा छुटाइएकाले समावेश गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा बोल्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री भोजेन्द्र अर्यालले नियत सफा र स्वच्छ भए कार्यविधि कार्यान्वयनमा जटिलता नआउने बताउनु भयो । विभागकै अर्का समाजशास्त्री कमल अधिकारीले भने खानेपानी सँग सम्बन्धित मन्त्रालयको भूमिका के हुने ? भन्ने किटान गरेर राखेको भए विद्यालयमा आवश्यक पानीको प्रबन्ध गर्न जिम्मेवार हुने बताउनु भयो ।
हेल्भेटास नेपाल, एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका मदन भट्टले भने दुई तारा वा तीन तारा पाउने विद्यालयलाई अनुदान दिने व्यवस्था गर्न सके राम्रो हुने सुझाव व्यक्त गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनका सुदन पन्थीले शौचालय र छात्रछात्राको अनुपात नै तोक्ने भन्दा पनि २ मिनेट भन्दा बढी लाइनमा बस्नुनपर्ने खालको व्यवस्था गर्न सक्ने उत्तम हुने बताउनु भयो ।
कार्यविधिमा दैनिक प्रतिव्यक्ति १२ लिटरका दरले स्वच्छ खानेपानी व्यवस्था गर्नुपर्ने, २५ छात्रा र ४० छात्र अनुपातका आधारमा एक शौचालय हुनुपर्ने, ४० छात्रा र ६० छात्रको अनुपातमा एक धारामा सबैको सहज पहुँच सहित प्रयोग भई नाली वा सोकपिट वा बगैंचा वा करेसाबारीमा पानीको निकासाको व्यवस्था गरिएको विद्यालय तीन तारा पाउन योग्य हुने उल्लेख छ ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिले गरेका व्यवस्था सम्बन्धीका खबर दिनहुँ प्रकाशन हुँदै जानेछन् । कृपया पढ्ने प्रयास गर्नुहोला ।


4307 पटक हेरिएको 

