मेलम्चीको ठेक्का तोडेको इटालियन कम्पनीको घोषणा

 1028 पटक हेरिएको

काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसी ले मेलम्चीको बाँकी काम नगर्ने अडान लिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंगलबार दुई दिन प्रयास गर्दा पनि कम्पनीले काम गर्ने इच्छा नदेखाएको हो ।


सुरुङको फाइनल फिनिसिङ सहितका मुख्य काम रोकिँदा मेलम्ची आयोजना अनिश्चित भएको छ ।
नेपाली पक्षले भूकम्प र नाकाबन्दीका कारण घाटा लागेकाले ३५ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने आश्वासन दिए पनि सीएमसी अधिकारीले ठेक्का तोडेको पत्र बुझाउँदै काम गर्न अस्वीकार गरेको हो । सीएमसी अधिकारीले कम्पनी आर्थिक रूपमा टाट पल्टेकाले बाँकी काम अघि बढाउन नसकिने अडान राखेका थिए ।


मन्त्रालयका सहसचिव एवं प्रवक्ता शंकरप्रसाद सुवेदीले भने । ठेक्का औपचारिक रूपमा तोडिन दुवै पक्षको सहमति चाहिन्छ । मन्त्रालयले सीएमसीले ठेक्का सम्झौता गर्दा राखेको धरौटी रोक्का गर्न बैंकलाई पत्र लेखेको छ ।


आयोजनाका पदाधिकारीलाई जानकारी नै नदिई नेपाल छाड्न लागेका सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेचोलाई मन्त्रालय र समितिले दुई दिनसम्म सीएमसी अधिकारीलाई सम्झौता बमोजिम बाँकी काम पूरा गर्न आग्रह गरेका थिए ।


सीएमसीले ९५ प्रतिशत रकम बुझिसकेको छ । विवाद निरुपण बोर्डले सिफारिस गरेको ३५ करोड र आयोजनाबाट पाउन बाँकी रकम समेत काम सक्न पर्याप्त नहुने र आफ्नो कम्पनीले थप रकम दिन नसक्ने भन्दै ठेक्का तोड्न बाध्य भएको उल्लेख गरेका थिए । सीएमसीले प्राविधिक र कामदारको तलब भत्ता र सञ्चय कोष बापतको एक अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी छ ।

मन्त्रालय र समितिले भने सीएमसीको पत्र स्विकारेका छैनन् । ‘हामीले सीएमसीको ठेक्का तोड्ने पत्र स्वीकार गरेका छैनौं । बाँकी काम सम्पन्न गर्न भनिरहेका छौं । उसले काम गरेन भने पूर्व निर्धारित समयमै कसरी सम्पन्न गर्न सकिन्छ भनेर अरू विकल्पमा समेत छलफल गरिरहेका छौं,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता शंकरप्रसाद सुवेदीले भने । ठेक्का औपचारिक रूपमा तोडिन दुवै पक्षको सहमति चाहिन्छ । मन्त्रालयले सीएमसीले ठेक्का सम्झौता गर्दा राखेको धरौटी रोक्का गर्न बैंकलाई पत्र लेखेको छ ।

सुवेदीका अनुसार मन्त्रालय र समितिले सीएमसी अधिकारीलाई नेपाल नछाड्न भनेका छन् । मन्त्रालयले उनीहरूलाई नेपाल छाड्न नदिन अध्यागमन विभाग र अध्यागमन कार्यालयलाई लिखित आग्रह गरेको छ । अध्यागमनले सीएमसीका ८ अधिकारीलाई निगरानीमा राखेको छ ।

मन्त्रालय र समितिका अधिकारीहरूले एसियाली विकास बैंक (एडीबी) का अधिकारीहरू सँग समेत आयोजनाको भविष्यबारे छलफल गरिरहेका छन् । एडीबी मेलम्ची आयोजनाको प्रमुख दाता हो ।

मेलम्चीमा खनिसकिएको साढे २७ किमि सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ (पिच गर्ने), तीनमध्ये २ वटा भेन्टिलेसन साफ्ट निर्माण, हाइड्रो मेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्टयुमेन्टेसन जडान, पानी प्रशोधन केन्द्र–२ को निर्माण, मेलम्चीको पानी सुरुङमा लग्न बाँध (इन्टेक) निर्माण र हाइड्रोमेकानिकल जडान कार्य गर्न मात्र बाँकी छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार