आधारभूत बिद्यालय शिवपुरीलाई एक तारा प्रदान

 1198 पटक हेरिएको

भीष्म लोध

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. – १ स्थित श्री आधारभूत बिद्यालय शिवपुरीलाई एक तारा को चिन्ह प्रदान (स्तर निर्धारण) गरिएको छ । बुधबार सरोकारवालाको संयुक्त अनुगमनबाट बिद्यालयको समग्र अवस्था राम्रो रहेको भन्दै एक ताराको चिन्ह प्रदान (स्तर निर्धारण)  गरेको हो ।

नेपाल सरकार शिक्षा बिभागद्धारा जारी बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यबिधि २०७४ मा उल्लेखित सूचकहरुमध्ये पहिलो ताराका लागि आवश्यक सूचक पुरा गरेको पाएपछि सो चिन्ह प्रदान (स्तर निर्धारण) गरेको छ ।

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ ले पानी, शौचालय सुबिधा, वातावरणीय सरसफाई, संस्थागत व्यवस्थापन, महिनावारी व्यवस्था जस्ता १० वटा सूचक अन्तर्गत मापदण्ड पुरा भए तीन तारासम्मको अवस्थामा बिद्यालयलाई राख्न सकिने व्यवस्था गरेको छ । जानकी गाउँपालिका वडा नं. १ भित्र रहेको सामुदायिक बिद्यालयहरुमध्ये सबैभन्दा राम्रो रहेको भन्दै वडा अध्यक्ष मोहम्मद रजा राईले पहिलो तारा प्राप्त बिद्यालयका रुपमा राखिएको बताउनुभयो ।

उहाँले कार्यबिधिले तोके अनुसार पहिलो ताराको मापदण्ड पुरा गरेको पाइएको बताउनुभयो । बुधबार सरोकारवालाको अनुगमनले बिद्यालयको अवस्था पहिचान गरेर पहिलो तारा प्राप्त बिद्यालय रहेको निर्णय समेत गरिएको वडा अध्यक्ष रजाले जानकारी दिनुभयो ।

अनुगमनमा वडा अध्यक्षसंगै जानकी गाउँपालिका शिक्षा शाखाका मुनिर अहमद खाँ, नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत गणेश कार्की, गेरुवा ग्रामीण जागरण संघ बर्दियाका कोषाध्यक्ष लक्ष्मण चौधरी, बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष शुरेस थापा, बिद्यालय व्यवस्थापन समिति र बिद्यालय शिक्षक अभिभावक संघका पद्दाधिकारीको उपस्थिति रहेको थियो ।

सो बिद्यालयलाई नमूना बिद्यालय बनाउनका लागि गत वर्ष गेरुवा ग्रामीण जागरण संघले बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन कार्यक्रम अन्तर्गत शौचालयको मर्मत सम्भार, किशोरीमैत्री शौचालय व्यवस्थापन, महिनावारी व्यवस्थापन, हात धुने स्थानको व्यवस्थापन, शौचालयमा सहजरुपमा पानीको व्यवस्था, खानेपानीका लागि धारा जडान जस्ता कामहरु गरेका कारण पहिलो ताराको सूचकहरुमा पुगेको (स्तर निर्धारण)  बिद्यालयका प्रधानध्यापक द्रोण थापाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार