काठमाडौ : फण्ड बोर्डको विषयमा खानेपानीमन्त्री बिना मगर र धनकुटाका सांसद राजेन्द्र राई बीच चर्काचर्की भएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा फण्ड बोर्डको विषयलाई लिएर मन्त्री मगर र सांसद राई बीच भनाभन भएको हो ।
बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ सकिएपछि मेलम्चीको विषयमा उठेको प्रश्नको थप जवाफ सचिव ज्यूले दिनुहुन्छ भनेर मन्त्री मगरले भन्नासाथ सांसद राईले भन्नुभयो ‘मन्त्री ज्यू, म एउटा कुरा भन्न चाहन्छु । फन्ड बोर्ड ब्युँझाउने नब्युँझाउने तपाईको कुरा हो । तर, लाखौं जनताले काम गरिसकेको पैसा पाउनुपर्छ ।’
त्यसपछि मन्त्री मगरले जवाफ फर्काउनुभयो ‘लाखौं जनताले पैसा नपाएको भन्ने कुरा सत्य होइन, माननीयज्यू’ ‘तपाई दिनुस न पैसा’ सांसद राईले जवाफ फकाईहाल्नुभयो ।
‘लाखौं जनताले पैसा नभएको भन्ने सत्य होइन है ।’ मन्त्री मगरले के बोल्न थाल्नुभएको थियो । सांसद राई फेरि बोल्न थालिहाल्नुभयो ‘पख्नुस, मलाई बोल्न दिनुहोस् । फन्ड बोर्ड ब्युँताउने कुरामा तपाईहरूको व्यापक खेल छ भन्ने बाहिर आएको छ । त्यो म जान्दिनँ । तपाईले जनतालाई काम गसिसकेको पैसा दिनुस् क्या । धनकुटामा छ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् ।
उनीहरूले पैसा नपाउनु भनेको के हो ? पैसा दिनुर्पयो नि’ यदि पैसा दिनुभएन भने म त्यहाँको जनप्रतिनिधि भएको हुनाले पत्रकार सम्मेलन गर्नु जरुरी छ । किनभने म त्यहाँको प्रतिनिधि हुँ । त्यहाँका जनताले मलाई भोट दिएका छन् ।
त्यसपछि मन्त्री मगरले भन्नुभयो ‘ हामी विधि र्पुयाएर पैसा दिनेछौं । विधि नर्पुयाई पैसा दिँदैनौं ।’ मन्त्री मगरले हाँस्दै भन्नुभयो ‘हाम्रा केही माननीय सदस्य ज्यूहरू पनि फन्ड बोर्डमा सहभागी हुनुहुन्छ । बोर्ड ब्यूँताउनका लागि मैले खासगरी तीनवटा कुरामा सुधार गर्न लागेको छु ।’
फन्डबोर्डसँग सम्बन्धित आयोजना खर्चको लेखा परीक्षण महालेखा परीक्षक कार्यालयबाट गराउनुपर्ने, नेपाल सरकारको आर्थिक ऐन, नियावली पालना गर्नुपर्ने र मन्त्रालयले पनि त्यसको अनुगमन गर्न पाउनुपर्ने मन्त्री मगरले बताउनुभयो ।
मेलम्ची खानेपानी आयोजनाको अहिलेको अवस्थाबारे छलफल गर्न प्रतिनिधिसभाको सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले बैठक बोलाएको थियो ।


2314 पटक हेरिएको 

