डडेलधुरा : त्यो दिन डडेलधुरामा सरसफाइ र स्वच्छताको महत्वबारे अभिमुखीकरण कार्यक्रम भइरहेको थियो । सरसफाइ र स्वच्छताका बिषयमा व्यापक छलफल भईरहँदा पनि कुनामा एक जना व्यक्ति एकनासले टोलाईरहनुभएको थियो ।
उहाँ हुनुहुन्थ्यो,, कोटेली–१, डडेलधुराका ५० वर्षिय बहादुर भुल । बहादुरलाई अरु केही नभई छोराको याद आएको रहेछ ।
जन्मिएको १७ महिना पनि नपुग्दै उहाँको छोरोको झाडापखाला र ज्वरोले ज्यान गएको रहेछ । छोरो गुमाउनुको कारणबारे थाहा भएपछि सरसफाइ गरेको भए १७ महिनामै वितेको छोरो आफ्नै साथमा हुने रहेछ भनेर टोलाईरहनु भएको रहेछ ।
‘मलाई बल्ल बुद्धि आयो, पहिले छोरा के कति कारणले गुमेको रहेछ भन्ने छर्लङ्ग भयो, मलाई यसमा पछुतो छ, मैले सरसफाइ गरेको भए छोराको अकालमा ज्यान नजाने रहेछ’ उहाँले आत्माग्लानि भएको महसुस गर्दै भन्नुभयो ।
‘मेरो सोच कहिल्यै पनि सरसफाइ र स्वच्छतामा कहिल्यै गएन । आफूले गर्न सक्ने सरसफाइ पनि नगर्दा मैले छोरा नै गुमाएँ ।’ अब म जहिले पनि सरसफाइमा ध्यान दिन्छु’ उहाँले प्रतिबद्धता जनाउनुभयो ।
अघिल्लो पटक सुआहारा–दोस्रो कार्यक्रमका वास प्रज्जवलकहरु बहादुरको घर पुग्दा भान्साकोठा, हात धुने ठाउँ, चर्पी सबै अस्तव्यस्त थियो, अव्यवस्थित गोठ र गोबरका कारण घर–आँगन निकै फोहोर देखिन्थ्यो ।
तर अभिमुखिकरण कार्यक्रममा सहभागी भएर बाचा गरेपछि सरसफाइ र स्वच्छता उहाँको दैनिकी बनेको छ । दिसापिसाबका लागि चर्पीको प्रयोग गर्नुहुन्छ । भाँडाकुँडा सुकाउन जुठेल्नो बनाउनु भएको छ । क्याण्डल फिल्टरको सहायताबाट पानी फिल्टर गरेर मात्र पिउनुहुन्छ । उहाँको सफा र व्यवस्थित घर–आँगन देखेर छिमेकीहरु पनि सरसफाइ र स्वच्छताको सिको गर्दैछन् ।
बहादुर भूल पनि अब खानेपानी र सरसफाइकै अभावमा सन्तान गुमाउनुपर्ला भन्ने त्रासमा हुनुहुन्न । खानेपानी र सरसफाइबाट मिलेको इज्जत र प्रतिष्ठाबाट उहाँ पनि मख्ख हुनुहुन्छ ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्रकाशन अञ्जुलीबाट ।
बीर बहादुर दमाई, डडेलधुरा