नेपालगञ्ज : छिमेकीको अपहेलना र पानीको जोहो गर्दा हैरान बनेका बाँके जानकी गाउँपालिका गुरुवागाउँको दलित बस्तीमा खुशियाली छाएको छ । घरमै धारा बनेपछि अरुको छुवाछुत सहनु नपर्ने आशाले उनीहरु खुसी भएका हुन् ।
दलित बस्तीमा नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले धारा जडान गरेपछि आफ्नै घर, आँगनमा पानी भर्न पाएका छन् । फाउण्डेशनले गाउँपालिकाको वडा नं ५ गुरुवागाउँमा ५१ वटा घरमा खानेपानीका धारा जडान गरेपछि छुवाछूत र खानेपानी नपाउने पीडाबाट त्यहाँका दलित समुदायलाई राहत मिलेको छ ।
अत्यन्त गरीब बस्तीका रुपमा चिनिएको गुरुवागाउँका ५१ घरमा गाउँपालिकाको सिफारिशमा धारा जडान गरिएको फाउण्डेशनका कार्यक्रम संयोजक पवन सिंहले जानकारी गराउनुभयो ।
धारा जडान भएपछि गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, वडाध्यक्ष रमेश वर्मा, किशोर थापा र अधिकारकर्मी आलम खानसहितको एक टोलीले गुरुवागाउँका सर्वसाधारणसँग धाराको स्तरलगायतका विषयमा जानकारी लिएको छ ।
“गाउँपालिकाको निगरानीमा निकै महङ्गो र स्तरीय धारा निःशुल्क जडान गरिएको छ”, अध्यक्ष यादवले भन्नुभयो, “अब आफ्नो गाउँपालिकामा दलितमाथि हुने सबैखाले विभेद हटाइनेछ ।” यसअघि सो दलित बस्तीमा खानेपानीको कुनै विकल्प नहुँदा छिमेकी गाउँबाट पानी लिन जानुपथ्र्यो र त्यसक्रममा सधैँ झगडा हुने गथ्र्यौं ।
फाउण्डेशनका अध्यक्ष शक्तिकुमार बंशकारले बाँकेका पिछडिएका गाउँबस्तीमा शुरु गरिएको ‘एक घर एक धारा’ कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको जिकिर गर्नुभयो ।


776 पटक हेरिएको 

