महिनावारी र सरसफाइ सम्बन्धी सडक नाटक

 2315 पटक हेरिएको
🔗
156
Shares

सिन्धुपाल्चोक : एउटी छात्रालाई ३/४ दिन विद्यालयमा नदेखेपछि शिक्षकले विद्यालय नआउनुको कारण सोध्छन् । ती छात्राले डराउँदै महिनावारी भएका बेला असहज हुने गरेकोले विद्यालय नआएको जवाफ दिन्छिन् ।


शिक्षक : महिनावारी हुनु भनेको किशोरी वा महिला सन्तान उत्पादनका लागि परिपक्व हुँदैछिन् भन्ने सँकेत हो । तिमि हरेक पटक महिनावारी हुँदा ४ दिन स्कुल आइनौ भने वर्षभरीमा झण्डै २ महिना पढाइ छुट्छ ।


रमा : के गर्ने त सर, स्कुलमा चर्पी छ तर हामी केटीहरुका लागि छुट्टै छैन । प्याड फेर्ने राम्रो ठाउँ पनि छैन । स्कुलमा जगेडा प्याड भए पनि हामीलाई सजिलो हुन्थ्यो ।


शिक्षिका : विद्यालय भवनसँगै छात्र छात्राको लागि छुट्टै चर्पी बन्दैछ । हामीले स्कुलमा जगेडा सेनिटरी प्याड राख्ने विषयमा पनि छलफल गर्दैछौं ।


रमा : त्यो त हो सर, तर हामीलाई अहिले नैं अप्ठ्यारो भएको छ ।
शिक्षक : अहिले भएकै चर्पीलाई व्यबस्थित गरौंला । बरु फलाटिन अथवा सुतीको कपडाबाट प्याड बनाएर प्रयोग गर्ने हो की ? त्यसरी प्याड बनाउँदा बजारमा किनेको भन्दा सस्तो पर्न आउँछ । बजारबाट प्याड किन्दा २/३ महिनामा गर्ने खर्चले कपडाको प्याड बनाउँदा कम्तिमा ३ वर्षलाई पुग्छ । बजारमा किन्ने प्याडमा रासायनिक पदार्थ मिसाएर बनाएको हुन्छ कपडामा रासायनिक पदार्थ नहुने भएकोले बढी स्वस्थकर हुन्छ ।


बरु महिनावारी भएका बेला दिनहुँ नुहाउने, ४ देखि ६ घण्टामा प्याड फेर्ने, कपडाको प्याडलाई साबुन पानीले राम्रोसँग धोएर घाममा सुकाएपछि पुनः प्रयोग गर्न सकिन्छ ।


रमा : प्याड कसरी बनाउने त सर ?
शिक्षक : कपडाबाट पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउने विषयमा संस्थाले विद्यालयमैं तालिम दिने भनेको छ । हामी समन्वय गरिरहेका छौं । साथीहरुलाई पनि भन्नु, त्यो तालिममा छुट्नु हुँदैन है कोही पनि ।


त्यसपछि ती छात्रा प्रशन्न मुद्रामा कक्षाकोठामा जान्छिन् । यो दृश्य खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन सम्बन्धी सडक नाटकको हो । विद्यार्थी, शिक्षक तथा अभिभावकमा महिनावारी व्यबस्थापन र सरसफाइका विषयमा सचेतना प्रवाह गर्ने उद्धेश्यले सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च सिन्धुपाल्चोकले लाँगर्चे, ज्यामिरे, किउल र इचोकका ५ वटा विद्यालयमा सडक नाटक प्रदर्शन गरेको छ ।


आवाज आर्ट क्रियशनका कलाकारहरुले प्रदर्शन गरेको सडक नाटकमा महिनावारी व्यबस्थापनसँगै शौचालय निर्माण, प्रयोग र नियमित सरसफाइ, सुरक्षित पानीको प्रयोग, साबुन पानीले हात धुनु पर्ने अवस्थाहरु, फोहोर व्यबस्थापन, वातावरणीय सरसफाइ र मर्मत सम्भारका विषयलाई आकर्षक ढंगले प्रस्तुत गरिएको थियो ।


नाटक अवलोकन गरेपछि प्रतिक्रिया दिँदै जनता माध्यामिक विद्यालय ज्यामिरेका प्रधानाध्यापक केदार बिष्टले सरसफाइ सम्बन्धी समुदायको अभ्यासलाई जस्ताको त्यस्तै प्रस्तुत गरेर सहि सन्देश प्रवाह गरेको बताउनुभयो । ‘समुदायको यथार्थपरक कुरालाई रोचक ढँगबाट प्रस्तुत गरेर नाटकले विद्यार्थी, शिक्षक तथा अभिभावकमा महिनावारी व्यबस्थापन लगायत सरसफाइ सम्बन्धी ज्ञान बढाएको मैंले महशुस गरेको छु ।’

प्रधानाध्यापक बिष्टले भन्नुभयो, ‘कारितास स्वीटजरल्याण्ड र स्वीस रेडक्रसको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण भैरहेकोले नाटकमा भनेजस्तै महिनावारी व्यबस्थापनको कामलाई पनि अगाडी बढाउने छौं । एक चरणमा प्याड निर्माण तालिम सकिएको र महिनावारी व्यबस्थापन समिति समेत गठन भएकोले अहिलेको संरचनालाई पनि महिनावारी मैत्री बनाउन हामी पहल गर्नेछौं । महिनावारी उमेरका विद्यार्थी सँख्या धेरै भएकोले अर्को चरणको तालिमको पनि अपेक्षा गरेका छौं ।’


नौलिङ्गेश्वरी आधारभुत विद्यालय लाँगर्चेका सहायक प्रधानाध्यापक कृष्णबहादुर महतले नाटकले विद्यार्थीमार्फत समुदायसम्म सरसफाइ सम्बन्धी सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिनु भएको छ ।

‘नाटकले प्रस्तुत गरेको सरसफाइ, महिनावारी व्यबस्थापन तथा मर्मत सम्भार सम्बन्धीको समय सान्दर्भीक सन्देशलाई हामी विद्यालयमा प्रभावकारी ढँगबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ महतले भन्नुभयो, ‘महिनावारी व्यबस्थापन र पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड निर्माण सम्बन्धी तालिम सञ्चालन गरेर महिनावारीका बेला अनुपस्थित हुने विद्याथीृको सँख्या घटाउन हामी पनि आतुर छौं । सरसफाइ प्रवद्र्धनका कामहरु नियमित गरिरहेको संस्था सिडिइसिएफलाई जतिसक्दो छिटो प्याड निर्माण तालिम सञ्चालन गर्न आग्रह गर्दछौं ।’


कारितास स्वीटजरल्याण्ड, स्वीस रेडक्रस र हेल्भेटास नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले सञ्चालन गरिरहेको सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण परियोजना अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको कार्यक्रम अधिकृत विनोद शर्माले बताउनुभयो ।

‘लाँगर्चेको नौलिङ्गेश्वरी आधारभुत विद्यालय, ज्यामिरेको जनता मावि र गोल्मेश्वरी आधारभुत विद्यालय, किउलको नुर्बुलिङ मनिचौर मावि र इचोकको नारायण आधारभुत विद्यालयमा नाटक प्रदर्शन गरिएको हो । सिन्धुपाल्चोकका विद्यालयमा पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड निर्माण तालिम सम्भवत कारितास र सिडिइसिएफले नैं पहिलो पटक सञ्चालन गरेको हो ।’

शर्माले भन्नुभयो, ‘कार्यक्षेत्रका कक्षा ६ देखि १० सम्म पढाइ हुने २० वटा विद्यालय मध्ये १७ वटा विद्यालयका ७ सय ५० भन्दा बढी छात्रा, ५० भन्दा बढी छात्र र ५० भन्दा बढी शिक्षक शिक्षिकालाई फलाटिनको कपडाबाट पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउन सिकाएका छौं ।

बाँकी ३ वटा आधारभुत विद्यालयमा पनि छिट्टै तालिम सञ्चालन गर्ने तयारीमा छौं ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार