धादिङवेशी : खानेपानीको चरम अभाव झेल्दै आएको निलकण्ठ नगरपालिका वडा नम्बर ६ मा खानेपानीको दुःख अब सदाको लागि हटेको छ । सर्भिस फर पिस र कोरिया इन्टरनेसन को अपरेसन एजेन्सी (कोइका) को संयुक्त पहलमा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गरी यही पुस १५ गते आयोजना समुदायलाई हस्तान्तरण गरेपछि पानीको दुःख हटेको हो ।
नवलपुरका सय घरधुरीमा अहिले घरघरमै पानीको धारा जडान गरिएको छ । घण्टौं हिँडेर पानी लिन जानुपर्ने समस्या समाधान भएपछि स्थानीयवासी हर्षले गदगद भएका छन् ।

नवलपुर लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष समेत रहेका स्थानीयवासी शारदा शंकर राजभण्डारीले घरघरमै पानी आउन थालेपछि पुराना दुःख सदाका लागि अन्त्य भएको बताउनुभयो । “पानीको ठूलो समस्या थियो । घण्टौं हिँडेर पानी लिन जानुपथ्र्यो । घरमै पानी आउन थालेपछि ती दुःखका दिन हटेका छन्,” उहाँले विगतको दुःख सम्झिदै भन्नुभयो ।
डेढ किलोमिटर तल रहेको खोलाबाट पानी लिफ्टिङ प्रविधिबाट गाउँमा पु¥याएर घरघरमा धारा जडान गर्दा ७१ लाख २३ हजार ९ सय ३२ रुपैयाँ खर्च भएको सर्भिस फर पिस नेपालका केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक उपेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनाको कूल लागतमध्ये ८० प्रतिशत कोइका र २० प्रतिशत सर्भिस फर पिसका तर्फबाट खर्च भएको हो । सर्भिस फर पिस नेपालले भूकम्पपछि धादिङमा विद्यालय पुनर्निर्माण र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ । यसअघि निलकण्ठ नगरपालिका ५ खाल्टे र ज्वालामुखी गाउँपालिका ५ खरीमा समेत खानेपानी आयोजना सम्पन्न गरी स्थानीयलाई हस्तान्तरण गरिसकेको छ ।
त्यस्तै, नीलकण्ठ नगरपलिका वडा नं ६ कै कुसुण्डे भने खानेपानी आयोजनाको काम जारी छ । सो आयोजना पनि डेढ महिनाभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको सर्भिस फर पिस नेपालका महासचिव सरोज खनालले जानकारी दिनुभयो ।
निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाले तिर्खामुक्त नगर बनाउने अभियानमा साथ दिएको भन्दै सर्भिस फर पिस र कोइकाले गरेको काम स्वागतयोग्य भएको बताउनुभयो । ‘निलकण्ठ नगरपालिकालाई तिर्खामुक्त बनाउने मेरो प्रतिवद्धता हो,” मेयर ढुंगानाले भन्नुभयो, “सो अभियानमा सहकार्य गरिरहेका र गर्न आउनेहरुलाई नगरपालिकाले सहयोग गर्नेछ ।”


886 पटक हेरिएको 

