खानेपानीको मुहान सुकेपछि जलविद्युत आयोजना बिरुद्ध आन्दोलित

बझाङ : बझाङको बुंगल नगरपालिकाको कालंगागाड जलविद्युत् आयोजना विरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन् । जलविद्युत् आयोजना निर्माणको कामले खानेपानीको मुहान सुकेको भन्दै बुंगल नगरपालिकाका–२ गिरौका स्थानीय बासिन्दाले कालंगागाड जलविद्युत् आयोजना विरुद्ध आन्दोलित भएका हुन् । स्थानीय बासिन्दाको अवरोधले जलविद्युतको काम अनिश्चितकालका लागि रोकिएको छ ।

जलविद्युत् आयोजनाको सुरुङ निर्माणका क्रममा गाउँका सबै खानेपानीका मुहान र सिँचाइ गर्ने पानीका मुहान सुकेको हिक्मत धामीले बताउनुभयो । गाउँमा रहेका खानेपानीका मुहान र पानीका कुवा सुक्नुका साथै खेतीयोग्य जमिनमा लाग्ने पानीका सबै मुहान सुकेपछि आफूहरूले खानेपानीको व्यवस्था र सिँचाइ कुलोको व्यवस्था गरिदिनुपर्ने माग राखेको धामीले बताउनुभयो ।

६० परिवारको खेतीयोग्य जमिनमा सिँचाइ गर्ने पानीको मुहान नै सुकेपछि अहिले जमिन बाँझै रहेको धामीले बताउनुभयो । आयोजनाले प्राप्त सिँचाइ र खानेपानीको व्यवस्था गर्नुपर्ने, स्थानीयलाई पूर्व सर्त अनुसार सेयर सुविधा दिनुपर्ने, वातावरणीय प्रदूषण कम गर्ने उपाय अवलम्बन गर्नुपर्ने, प्रभावित जग्गाधनीलाई माग अनुसार मुआब्जा दिनुपर्ने लगायतका विभिन्न माग राख्दै स्थानीयबासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

आयोजनाका सञ्चालक खगेश्वर बोहराले प्रभावित जग्गाधनीलाई सरकारी मूल्य अनुसार मात्र मुआब्जा दिने अधिकार आफूहरूलाई भएको बताउनुभयो । सिँचाइ, खानेपानी र सेयर दिने कुरामा आफूहरू सकारात्मक रहेको उहाँले बताउनुभयो । खानेपानीको व्यवस्था एक वर्षअघि नै ७० लाख खर्च गरेर ७ किमि टाढाबाट खानेपानीको व्यवस्था गरिसकेको र सिँचाइको पनि सुविधा गर्ने कुरामा आफूहरू तयार रहेको कालंगागाड हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले बताउनुभयो ।

यहाँका स्थानीयहरूले एक रोपनी जग्गाको १५ लाख बराबरको माग गरेको र स्थानीयले अनेक बहाना बनाएर काममा अवरोध गर्दै आएको उहाँको भनाइ छ ।

स्थानीय बासिन्दालाई आफूहरूले एक रोपनी बराबर ५० हजारको सेयर दिन, सिँचाइ कुलोको समेत व्यवस्था गरिदिन तयार रहे पनि स्थानीय बासिन्दाले नमानेको मल्लले बताउनुभयो । काममा अवरोधका कारण आयोजनाले दैनिक झन्डै ३० लाख बराबरको घाटा बेहोर्नुपरेको मल्लको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार