धारा आयो, कुवा हरायो

 1199 पटक हेरिएको
🔗
2
Shares

स्याङ्जा : गाग्रो बोकेर कुवा धाउने बिरुवा गाउँपालिका–६ गैरीगाउँका बासिन्दाको दैनिकी यतिबेला फेरिएको छ । कुवामा अब लुगा धुन पुग्छन् कि रहर लाग्दा मात्रै नुहाउन । ज्याग्दीखोलाको तीरमाथि रहेको गैरीगाउँमा बस्तीछेउ खानेपानीको स्रोत थिएन । त्यसैले अलि मुन्तिरको कुवामा मात्रै निर्भर स्थानीयलाई बारीमा सिँचाइको कुनै व्यवस्था थिएन । पहिले– पहिले धारा नभएको पनि होइन ।

ट्यांकी भत्किएको थियो, पाइप फुटेका थिए । अब फेरि घर–घरमा पानी आउने भएको छ । ‘अब फेरि गाग्री बोकेर कुवामा जाने दिन सकिए,’ स्थानीय रामप्रसाद कोइराला भन्छन्, ‘खानेपानीको इन्तजाम भएपछि सञ्चो भयो ।’ २०५५ सालमा तत्कालीन हेल्भेटास संस्थाबाट निर्मित योजनाले १० वर्ष काम गर्‍यो । त्यसयता गाउँले कुवाको पानीमा निर्भर थिए ।

गाउँ नजिकै रहेको पानीको मूलमा पनि २०७२ मा आएको भूकम्पपछि पानी घट्यो । वर्षामा आकाशे पानी संकलन गर्ने र हिउँदमा मूल र पँधेरा धाउनु दैनिकी बनेको थियो । हिउँदमा लाग्ने डढेलोको फोहोर मिसिएको र वर्षायाममा धमिलो पानी पिउनुपर्ने बाध्यता भने हटाउन सफल भएको वडाध्यक्ष कृष्ण क्षत्री बताउँछन् । ‘पानीकै समस्याले गाउँमा तरकारी लगाउन सकिँदैन,’ उनले भने, ‘बसाइँ गाउँमा छ । तरकारी भने बजारबाट किनेर ल्याउनुपर्छ ।’ खानेपानीको योजना निर्माणसँगै बाहिर बग्ने पानीले मात्रै पनि गाउँलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने उनले बताए ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत सञ्चालित झमनडाँडा खानेपानी योजनाको निर्माण भएपछि झमनडाँडा गाउँका ७९ घरधुरी लाभान्वित भएका हुन् । ५ महिलासहित गठित ११ जनाको उपभोक्ता समितिले बिहीबार निर्माण कार्य सम्पन्न भएको योजनाको कागजात परियोजनालाई हस्तान्तरण गरेको छ । यो योजनामा २ हजार ८ सय ५० मिटर परको धनुबाँसे मूलबाट ज्याग्दीखोला तारेर गाउँमा खानेपानी ल्याइएको छ गाउँका घर–घरमा धारा पुगेका छन् ।

मूलदेखि टयांकी हुँदै सुरक्षित तरिकाले घर–घरमा धारा पुर्‍याइएको परियोजनाका प्राविधिक राजन रानाभाटले बताए । सफा खानेपानी उपयोग गर्न पाउँदा सबैजना हर्षित रहेको उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर हमालले बताए । ‘व्यवस्थित खानेपानी प्रणाली सञ्चालनमा आएकाले योजना दिगो हुने आशा छ,’ उनले भने, ‘करेसाबारी व्यवस्थित गरी घरमै तरकारी फलाएर खान पाउने धोको पनि अब पूरा हुने भयो ।’

४१ लाख ६२ हजार ३ सय ८८ को लागतमा निर्मित योजनामा उपभोक्ताले ४१ हजार ६ सय २४ नगद र ११ लाख ५५ हजार ७ सय ५५ रुपैयाँ बराबरको श्रमदान गरेको परियोजनाका जिल्ला संयोजक मीन बस्नेतले बताए । गाउँ कार्यपालिकाले ४ लाख १६ हजार २ सय ३९ रुपैयाँ तथा नेपाल सरकार र फिनल्यान्ड सरकारबाट २५ लाख ४८ हजार ७ सय ७० अनुदान रहेको बस्नेतले बताए ।

परियोजनाअन्तर्गत १२ हजार लिटर, ७ हजार, ३ हजार र २ हजार लिटरका चारवटा रिजभ्र्वाएर टयांकी राखिएको छ । हालसम्म घरघरमा ६४ वटा धारा जडान भइरहेको छ । खानेपानी योजना निर्माण भएर पानी वितरण थालिएपछि पूर्ण सरसफाइयुक्त पनि घोषणा गरिएको छ ।

गण्डकीका प्रदेश सांसद दीपक चर्तिमगर, गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्मा र परियोजनाका प्रमुख प्राविधिक सल्लाहकार सान्नालिना राउतानेनले संयुक्तरूपमा योजनाको उद्घाटन गरेका हुन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार