दिक्पाल गिरी, काठमाडौ २२ वैशाख । सरकारले मानव मलमूत्रीय फोहोर व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाका २०७४ जारी गरेको छ । मानव मलमुत्रीय फोहोरको प्रभावकारी व्यवस्थापनको लागि सम्बद्ध संस्थाहरुको भूमिका र जिम्मेवारी परिभाषित गर्न र सहरमा मानव मलमुत्रीय फोहोरको व्यवस्थापनको प्रभावकारी योजना तर्जुमा, कार्यान्वयन र अनुगमनको लागि मार्ग प्रशस्त गर्न यो खाका जारी गरिएको हो ।
मानव मलमूत्रीय फोहोरको सही व्यवस्थापन विना सुधारिएको सरसफाइ र स्वच्छता पर्याप्त र दिगो नहुने निष्कर्ष सहित संघीय सरकार, गाउँपालिका तथा नगरपालिका, समुदाय र घरधुरीलाई मानव मलमूत्रीय फोहोरको व्यवस्थापन गर्न जिम्मेवार बनाउने हेतुले खानेपानी तथा सरसफाइ मन्त्रालयले संस्थागत तथा नियामक खाका जारी गरेको हो ।
अप्रशोधित मानव मलमूत्रीय फोहोरले सतह र जमीनमुनिका पानीका स्रोतहरुलाई प्रदुषित बनाउनुका साथै जनस्वास्थ्य र वातावरणमा प्रतिकुल असर पर्ने भएकाले यसको नियमन गर्न जरुरी भएको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायले बताउनुभयो ।
नियामक खाकामा तीन प्रकारले मानव मलमुत्रीय व्यवस्थापन गर्ने उल्लेख छ । पहिलो, फोहोर पानी, मानवमुत्रीय फोहोर व्यवस्थापन गर्न प्रशोधन सहितको ढल प्रणाली अबलम्बन गरिने, दोस्रो, प्रशोधन सहितको ढल प्रणाली तथा मानव मत्रमूत्रीय फोहोर व्यवस्थापन एकीकृत प्रणाली र तेस्रो ढल व्यवस्थापनका लागि जनघनत्व नभएको अथवा छरिएका वस्ती रहेको स्थानमा मानव मलमुत्रीय फोहोर व्यवस्थापन अपनाइने उल्लेख छ ।
सहरहरुमा मानव मलमुत्रीय फोहोर सेप्टिक ट्याङ्क खाली गर्ने, संकलन तथा ढुवानी गर्ने काम व्यवस्थित रुपमा हुन नसकेको खाकाले औल्याएको छ । आफ्नो घरको सेप्टिक ट्याङ्क खाली गर्नु परेमा निजी क्षेत्रका उद्यमीहरुलाई बोलाएर गर्ने, सहरहरुमा सेप्टिक ट्याङ्क नियमित रुपमा खाली गर्ने परिपाटी नहुने र जब खाल्डो वा सेप्टिक ट्याङ्कहरु भरिएर बाहिर वग्दछन् तब मात्र खाली गर्ने र मानव मलमुत्रीय फोहोर व्यवस्थापन गर्ने सेवाहरुको नियमन गर्ने संस्थाको अभावमा सेप्टिङ ट्याङ्बाट निकालिएको लेदो र फोहोरपानीलाई प्रशोधन विना नै नजिकैको नदी, सीमान्त जमिन, ढल वा नालीमा जथाभावी रुपमा फ्याँक्ने गरिएकाले यसको नियमन गर्न जरुरी भएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रेम कृष्ण श्रेष्ठले बताउनुभयो ।
चार वटा परिच्छेदमा विभाजन गरिएको खाकाको परिच्छेद ४ मा संस्थागत भूमिका र जिम्मेवारीहरु समेत तोकिएको छ । नेपालको संविधानमा व्यवस्था भएका प्रावधानहरु, खानेपानी, सरसफाइ र स्वच्छता नीति, ऐन, र क्षेत्रगत विकास योजना, पूर्ण सरसफाइ मार्गदर्शन, राष्ट्रिय सरसफाइ तथा स्वच्छता गुरुयोजना २०६८ र स्थानीय स्वयत्त शासन ऐन २०५५ लगायतले गरेको व्यवस्थाको आधारमा सरसफाइ सेवामा संलग्न संस्थाहरुको संस्थागत भूमिका र जिम्मेवारीहरु बाँडफाँट गरिएको छ ।
क कसको भूमिका के ?
स्थानीय तह
आफ्नो कार्यक्षेत्रभित्र मानव मलमूत्रीय फोहोर व्यवस्थापनको योजना र नियमनको लागि समग्र रुपमा जिम्मेवारी बहन गर्ने ।
मानव मलमुत्रीय फोहोर व्यवस्थापन प्रशोधन केन्द्रको लागि जमीन र बाटो उपलब्ध गराउने,
आफ्नो कार्यक्षेत्रभित्र मानव मलमुत्रीय फोहोर व्यवस्थापनको प्रभावकारी कार्यान्वयनका लागि समिति गठन गरी निरीक्षण गर्ने लगायत ्
खानेपानी तथा सरसफाइ मन्त्रालय तथा खानेपानी तथा ढल निकास विभाग
१. मानव मलमुत्रीय फोहोर व्यवस्थापन संयन्त्र निर्माणको लागि लागत साझेदारी गर्ने र सम्झौता अनुसार लागत साझेदारी गरे नगरेको अनुगमन गर्ने
२. मानव मलमुत्रीय फोहोर व्यवस्थापन सेवा चक्रको लागि स्थानीय तहलाई प्रभावकारी कार्यक्रम, व्यवस्थापन र अनुगमन गर्ने कार्यमा प्राविधिक सहयोग पु¥याउने
३. मानव मलमुत्रीय फोहोर व्यवस्थापनको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तह र अन्य प्रशासनिक संयन्त्रहरुको संस्थागत क्षमता सवलीकरण गर्ने र क्षमता लेखाजोखाको आधारमा राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्र तथा अनुसन्धान संस्थाहरुको माध्यमबाट क्षमता अभिबृद्धि गर्ने लगायत ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
१. मानव मलमूत्रीय फोहोरको व्यवस्थापन सहरी सरसफाइको एकीकृत अवयवको रुपमा स्थानीय तहलाई योजना तर्जुमा र कार्यान्वयनमा नीतिगत निर्देशन दिने ।
२. मानव मलमुत्रीय फोहोरको व्यवस्थापनमा प्रभावकारी कार्यान्वयन र अनुगमनको लागि स्थानीय तहलाई उपयुक्त जनशक्ति र बजेट उपलब्ध गराउने लगायत ।
खानेपानी उपभोक्ता तथा सरसफाइ समितिहरु
१. मानव मलमुत्रीय फोहोर व्यवस्थापन संयन्त्रको लागि स्थानीय तहको सहयोगमा जग्गा र बाटोको सुनिश्चित गर्ने,
२. सेवा शुल्कबाट दिगो सन्चालन नहुँदासम्म स्थानीय तहबाट सन्चालन र मर्मत सम्भार कोषको सुनिश्चितता गर्ने
३. व्यवसायिक योजनाको विकास र कार्यान्वयनको लागि सहयोग गर्ने लगायत ्
निजी व्यवसायी
१. मानव मलमुत्रीय फोहोर व्यवस्थापन सेवाको प्रभावकारी सञ्चालनमा स्थानीय तह र खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासँग साझेदारी गर्ने
२. सम्झौतमा भएको प्रावधान अनुसार मानव मलमुत्रीय फोहोर संकलन र ढुवानी, मानव मलमुत्रीय फोहोर प्रशोधन गर्ने संयन्त्रको व्यवस्थापन तथा उत्पादन भएको वस्तुको अन्तिम उपयोग गर्ने लगायत
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था
१. जनचेतना अभिबृद्धि गर्ने
२. क्षमता विकास, ज्ञान प्रबद्र्धन गर्ने
३. व्यवसायिक योजना विकास गर्ने
४. उत्पादित वस्तुको बजार प्रबद्र्धन गर्ने
मानव मलमुत्रीय नियामक खाकाले विकास साझेदारहरु, कृषि मन्त्रालय, कृषि विभाग, जनसंख्या तथा वातावरण मन्त्रालय लगायतको समेत भूमिका र जिम्मेवारी तोकेको छ ।


1208 पटक हेरिएको 

