वास क्षेत्रको अनुसन्धानका लागि सहकार्य गर्ने बिषयमा सरोकारवाला बीच बृहत छलफल

  वास खबर सम्बाददाता  522 पटक हेरिएको

काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सम्भावित सहकार्यका बिषयमा सरोकारवालाहरु बीच बृहत छलफल गरिएको छ । खानेपानी र सरसफाइ क्षेत्रको अध्ययन अनुसन्धान गर्ने बिषयमा सरोकारवालाहरुसँग वृहत छलफल भएको यो नै पहिलो हो । यस अघि खानेपानी तथा सरसफाइ क्षेत्रमा अध्ययन अनुसन्धानको खाँचो रहेको औल्याउँने गरिए पनि औपचारिक रुपमा छलफलमा जुटेका थिएनन् ।

संयुक्त राष्ट्रसंघीय निकायहरु, विकास साझेदारहरु, शैक्षिक तथा प्राज्ञिक संस्थाहरु, विभिन्न नागरिक संगठन, सञ्जालहरु तथा खानेपानी तथा सरसफाइ विज्ञहरुको सहभागितामा खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले Welt Hunger Hilfe (WHH) को सहयोगमा वास क्षेत्रको अध्ययन अनुसन्धान गर्ने बिषयमा पहिलो पटक छलफल चलाएको हो ।


छलफल कार्यक्रमका सहभागीहरुलाई WHH का वास विज्ञ बिजु डंगोलले स्वागत मन्तव्य व्यक्त गर्दै तराई मधेसमा भूमिगत पानीको सतहको अवस्था र पहाडी क्षेत्रमा पनि मूलको पानीको अवस्थाबारे अध्ययन भैरहेको जानकारी गराउनुभयो।

राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको विस्तारित कार्यक्षेत्र अनुसार प्रमाणमा आधारित र कार्यान्वयनमुखी अनुसन्धान तथा नवप्रवर्तनका लागि उपलब्ध स्रोतहरूको सदुपयोग गर्न र अनुसन्धान क्षमता वृद्धि गर्न विकास साझेदारहरूसँग सहकार्य गर्ने उद्देश्यले छलफल आयोजना गरिएको केन्द्रका कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले बताउनुभयो।

‘केन्द्रको विस्तारित कार्यक्षेत्र अनुरुप विकास साझेदारहरूसँग छलफल गरी उपलब्ध अनुसन्धानका क्षेत्रहरु र वित्तीय अवसरहरू पहिचान गर्न र सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्न छलफल आयोजना गरिएको हो’ उहाँले भन्नुभयो।

छलफलका क्रममा विकास साझेदारहरुले आ आफ्नो संस्थाले अध्ययन अनुसन्धान गरिरहेको क्षेत्र, अनुसन्धान गर्ने निकायहरु बीच कुन कुन क्षेत्रमा कसरी अनुसन्धानमूलक सहकार्य गर्न सकिन्छ ? भन्ने बारेमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

काठमाडौ विश्वविद्यालय लगायत शैक्षिक संस्थाका प्रतिनिधीहरुले भने अहिले पनि खानेपानी तथा सरसफाइका विविध बिषयमा अनुसन्धानात्मक कामहरु भैरहेको र अझ विकास साझेदारहरुसँग सहकार्य गर्न पाएमा अनुसन्धानलाई वृहत बनाउन सकिने बताएका थिए ।


छलफलमा सहभागीहरुले अनुसन्धानका बिषयहरु पहिचान गरी अनुसन्धानका लागि इच्छुक अनुसन्धातालाई आव्हान गर्नुपर्ने यसका लागि वित्तिय सहयोग गर्न आफूहरु तत्पर रहेको बताएका छन् ।

छलफल कार्यक्रमको अन्त्यमा राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई. रामकुमार श्रेष्ठले अध्ययन अनुसन्धानका सम्भावित सहकार्यका बिषयमा गरिएको पहिलो छलफल अति नै उपलब्धीमूलक भएको बताउनुभयो । उहाँले छलफलमा उठेका बिषयहरुलाई एउटा दस्तावेज तयार गरी सबैसँग आदानप्रदान गर्ने र त्यपछि दोस्रो चरणमा कार्ययोजना नै निर्माण गर्ने गरी छलफल कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ‘अनुसन्धान केन्द्रमा पनि अनुसन्धानका लागि भनेर बजेट विनियोजन त गरिएको हुन्छ, तर अति न्यून बजेट राखिएको हुन्छ, सरकार र विकास साझेदारबीचको सहकार्यले अनुसन्धानलाई मूर्त रुप दिन सघाउ पुग्नेछ’ उहाँले भन्नुभयो।


छलफलमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शैक्षिक संस्थाहरु: काठमाडौ विश्वविद्यालय, पुल्चोक इन्जिनियरिङ कलेज र थापाथली क्याम्पसका प्राध्यापकहरु, संयुक्त राष्ट्र संघीय निकायहरु : युएन. ह्याबिटाट, विश्व स्वास्थ्य संगठन (WHO) युनिसेफ, विकास साझेदारहरुः वाटर एड, एस.एन.भी, वेल्ट हङ्गर हिल्फे (WHH), फिन्ल्याण्ड दुतावास, जाइका, इसिमोड, आई डब्लु एम आई (IWMI) एन्फो, अक्सफाम, बेलायती दुतावास, क्षमता विकास सँग सम्बन्धित निकायहरु : प्राविधिक प्रशिक्षण प्रतिष्ठान (TITI) भक्तपुर, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA) जावलाखेल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC) जावलाखेल तथा नेटवर्क संगठनहरु: नगरव्यापी समावेशी सरसफाइ एलायन्स, नेपाल नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन), साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका प्रतिनिधी एवं खानेपानी तथा सरसफाइ विज्ञहरु सहभागी हुनुहुन्थ्यो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार