विद्यालयका हेरचाहकर्ताहरूको मर्मत सम्भार क्षमता ०% बाट १००%

WASH GAINS परियोजनाले तीन वर्षमा विद्यालय WASH स्तरमा उल्लेखनीय संस्थागत प्रगति

  वास खबर समाचारदाता  135 पटक हेरिएको

बर्दिया : सन् २०२३ देखि २०२६ सम्म बर्दियाको गुलरिया नगरपालिका, ठकुरबाबा, बारबर्दिया, मधुवन र गेरुवा गाउँपालिकाका ३३ विद्यालयमा सञ्चालित WASH GAINS (WASH for Gender and Adolescent Inclusion in Schools in Nepal) परियोजनाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता (WinS) क्षेत्रमा उल्लेखनीय संस्थागत प्रगति हासिल गरेको छ।

परियोजनाको समापन तथा सिकाइ आदानप्रदान कार्यक्रममा WinS कार्यविधिबारे ज्ञान १ प्रतिशतबाट ९९ प्रतिशत पुगेको तथा विद्यालयका हेरचाहकर्ताहरूको सञ्चालन तथा मर्मत सम्भार (O&M) क्षमता ० प्रतिशतबाट १०० प्रतिशत पुगेको जानकारी गराइएको हो।

यो परियोजना यूके एड र WaterAid Nepal को सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल प्रजनन स्वास्थ्य केन्द्र, स्थानीय सरकार तथा विद्यालयहरूसँगको साझेदारीमा कार्यान्वयन गरिएको थियो।

वाटर एड नेपाल, वास गेन्स परियोजनाका परियोजना प्रबन्धक उमा शंकर यादवका अनुसार परियोजना मार्फत विद्यालयहरूमा कार्यशील, लैङ्गिक पृथक, किशोरमैत्री तथा अपाङ्गतामैत्री WASH सुविधा स्थापना गरिएको छ।

अन्तिम मूल्यांकन अनुसार, परियोजनाबाट उपलब्ध गराइएका सुविधाप्रति ९९ प्रतिशत प्रयोगकर्ता सन्तुष्टि देखिएको छ, जसले विद्यालयमा सुरक्षित, सम्मानजनक र समावेशी सरसफाइ सेवाको प्रभावकारिता पुष्टि गरेको छ।

सरोकारवालाहरूका अनुसार, परियोजनाले विशेषगरी छात्रा, किशोरी तथा अपाङ्गता भएका विद्यार्थीहरूको विद्यालय उपस्थितिमा सुधार, आत्मविश्वास वृद्धि तथा सुरक्षित सिकाइ वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

परियोजनाले जनाएको अनुसार स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र समुदायको सक्रिय समन्वयका कारण विद्यालयहरूले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि अनुसार आवश्यक सुधार गर्दै तीन तारा हासिल गर्न सफलता पाएका छन्।

परियोजना अन्तर्गत जिल्लाको पाँच पालिकाका ३३ मध्ये  २७ वटा सामुदायिक विद्यालयले तीन तारा हासिल गरेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार