जलवायु उत्थानशील सरसफाइ सेवा प्रवर्द्धन गर्न DA-17 परियोजना नेपालमा शुभारम्भ

  वास खबर सम्बाददाता  116 पटक हेरिएको

काठमाडौ : दक्षिणपूर्व एशियाका न्यून आय भएका सहरी समुदायलाई लक्षित गर्दै समतामूलक तथा जलवायु उत्थानशील सरसफाइ सेवा प्रवर्द्धन गर्न बहुदेशीय परियोजना नेपालमा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। संयुक्त राष्ट्र संघको विकास खाताको १७औँ बजेट अन्तर्गतको बजेटबाट नेपाल र लाओसमा यो परियोजना सुरु गरिएको हो ।

नेपालमा भईरहेको ‘Global South WASH Financing and Sustainability Conference 2026’ को अवसर पारेर UN-Habitat का Water and Sanitation Team Leader, Hezekiah Pireh र  राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई. राम कुमार श्रेष्ठले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो।

नेपालमा झापाको मेचीनगर नगरपालिकामा यो परियोजना कार्यान्वयन हुनेछ । सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुने यस परियोजनाले न्यून आय भएका सहरी समुदायका लागि बस्नयोग्य, समावेशी र जलवायु–सहनशील सहर निर्माणमा सरसफाइ सेवाको गुणस्तरीय पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

परियोजनाको वित्तीय मोडेलबारे प्रस्तुत गर्दै  UN-Habitat का Water and Sanitation Team Leader, Hezekiah Pireh ले परियोजनाको मुख्य उद्देश्य समतामूलक तथा जलवायु–सहनशील सरसफाइ सेवाको उपलब्धता मार्फत दक्षिण तथा दक्षिणपूर्व एशियाका न्यून आय भएका समुदायका लागि बस्नयोग्य सहरहरूको प्रवर्द्धन गर्नु रहेको बताउनुभयो। विशेषगरी न्यून आय भएका, जोखिममा रहेका तथा सेवा पहुँचबाट वञ्चित समुदायलाई केन्द्रमा राख्दै सरसफाइ पूर्वाधार, सञ्चालन प्रणाली र सेवा प्रवाहमा सुधार ल्याउन परियोजनाले संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धिमा जोड दिने उहाँले बताउनुभयो।

विस्तृतमा हेर्नुहोस भिडियोः


परियोजना शुभारम्भ कार्यक्रममा राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले जलवायु परिवर्तन, तीव्र सहरीकरण, अनियोजित बस्ती विस्तार तथा सीमित सार्वजनिक लगानीका कारण न्यून आय भएका सहरी समुदायले सुरक्षित र दिगो सरसफाइ सेवामा पर्याप्त पहुँच पाउन नसकेको उल्लेख गर्दै यस्तो परियोजना समयसापेक्ष र अत्यन्त आवश्यक रहेको बताउनुभयो।

परियोजनाको पहिलो कम्पोनेन्ट अन्तर्गत छनोट गरिएका सहरहरूमा सार्वजनिक सहरी सरसफाइ सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गरिनेछ। यसले जलवायु–सहनशील तथा समावेशी सरसफाइ सेवाको प्रभावकारी योजना, कार्यान्वयन, सञ्चालन तथा सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ। विशेष गरी नगरस्तरमा फोहोरपानी व्यवस्थापन, मलमूत्र व्यवस्थापन, पूर्वाधार सञ्चालन तथा नियमित मर्मत सम्भारमा संस्थागत क्षमता सुदृढीकरण गरिनेछ।

त्यसैगरी दोस्रो कम्पोनेन्ट अन्तर्गत दक्षिण तथा दक्षिणपूर्व एशियाका छनोट गरिएका राष्ट्रिय तथा स्थानीय सरकारहरूको क्षमता सुदृढीकरण गरिनेछ। जलवायु–उत्तरदायी सरसफाइ सेवाहरूलाई बृहत्तर सहरी विकास योजना, नीति तथा रूपरेखामा समावेश गर्न आवश्यक नीतिगत सिफारिसहरू तयार गरी अनुमोदन प्रक्रियामा लैजाने, साथै तिनको कार्यान्वयन र दिगोपन सुनिश्चित गर्न आवश्यक संस्थागत समर्थन उपलब्ध गराइने परियोजनाको लक्ष्य रहेको छ।

नेपालमा मेचीनगर नगरपालिकालाई छनोट गरिनु मेचीनगर नगरपालिकामा दुई वटा मानव मलमूत्र प्रशोधन केन्द्रहरु रहेको, सीमावर्ती सहरीकरण व्यवस्थापन, तथा न्यून आय भएका समुदायमा सेवा विस्तारको सम्भावना उच्च भएकाले महत्वपूर्ण अवसरका रूपमा हेरिएको UN-Habitat का NPO सुधा श्रेष्ठले बताउनुभयो। उहाँले परियोजनाबाट नगरस्तरमा सेवा प्रदायक संस्था, प्राविधिक जनशक्ति, नीति निर्माण निकाय तथा समुदायबीच समन्वय बढ्दै जाने अपेक्षा रहेको बताउनुभयो।

परियोजनाले अन्ततः लक्षित समुदायहरूमा स्वास्थ्य जोखिम न्यूनीकरण, वातावरणीय प्रदूषणमा कमी, जलवायुउत्थानशीलता वृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ। सरसफाइलाई केवल पूर्वाधार निर्माणमा सीमित नराखी सामाजिक समावेशिता, सेवा न्याय, जलवायु सहनशीलता र संस्थागत दिगोपनसँग जोडेर अघि बढाइएको यस पहललाई सहरी वास क्षेत्रमा महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार