
नगरकोट : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रको क्षमता विकासलाई अझ प्रभावकारी बनाउन सरकारी प्रशिक्षण केन्द्रहरूबीच सहकार्य र समन्वय सुदृढ गर्ने उद्देश्य सहित नेटवर्किङ कार्यशाला आयोजना गरेको छ।
नगरकोट स्थित राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र ((NWSSRICDC)) मा सम्पन्न कार्यशालामा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत प्रमुख सरकारी प्रशिक्षण संस्थाहरूको सहभागिता रहेको थियो। प्रशिक्षण दृष्टिकोण, असल अभ्यास तथा अनुभवहरू आदानप्रदान गर्दै दीर्घकालीन साझेदारीका सम्भावना पहिचान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले जनाएको छ।
कार्यशालामा कार्यशालामा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC), स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA), नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC), प्राविधिक प्रशिक्षण प्रतिष्ठान (TIT), राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) लगायत संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सहभागी हुनुहुन्थ्यो ।
कार्यशालामा एन्फोले विगत तीन दशकभन्दा बढी समयदेखि खानेपानी, सरसफाइ र स्वच्छता, सार्वजनिक स्वास्थ्य, वातावरण तथा क्षमता विकास क्षेत्रमा गरेका काम, विकास गरेका प्रशिक्षण प्याकेज, सिकाइ सामग्री तथा फिल्डमा आधारित अभ्यास विधिहरू प्रस्तुत गरेको थियो। सहभागी सरकारी प्रशिक्षण केन्द्रहरूले पनि आफ्ना क्षमता विकास गतिविधि, प्रशिक्षण प्राथमिकता र विद्यमान चुनौतीहरूबारे जानकारी गराएका थिए।
कार्यक्रम अन्तर्गत ग्यालरी–वाक, समूह छलफल तथा अन्तरक्रियात्मक सत्र मार्फत प्रशिक्षण आवश्यकता, सामग्री विकास, तालिम सञ्चालन, प्रभाव मूल्याङ्कन तथा अनुगमन प्रणालीमा देखिएका चुनौतीहरू पहिचान गरिएको थियो। साथै ती चुनौतीहरूको समाधानका लागि संयुक्त पहल र सहकार्यका क्षेत्रहरूमा छलफल गरिएको थियो।
कार्यशालाबाट संयुक्त तालिम सञ्चालन, प्रशिक्षण सामग्रीको सह विकास, सह सहजिकीकरण तथा प्रभाव मूल्याङ्कनका लागि कार्यदिशा पहिचान गरिएको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले बताउनुभयो। उहाँले यो कार्यशालाले सरकारी प्रशिक्षण केन्द्रहरूबीच आपसी समझदारी सुदृढ गर्दै खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको क्षमता विकासलाई दीर्घकालीन रूपमा मजबुत बनाउन ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।


536 पटक हेरिएको 

