
कालिकोट : चुलीमालिका बृहत् खानेपानी आयोजना ६ वर्षदेखि अलपत्र परेको छ। खानेपानी निर्माण कार्य अलपत्र पर्दा कालीकोटको खाँडाचक्र नगरपालिका स्थानीय खानेपानीको चरम मारमा परेका छन्।
स्वच्छ खानेपानी पाउने आशामा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भइसक्दा पनि पानी नपाएको स्थानीय रामबहादुर बोगटीले गुनासो पोखे। खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दुःख भोग्नुपरेको उहाँको भनाइ छ।
चुली मालिका बृहत् खानेपानी आयोजना निर्माण कार्य नै अलपत्र परेपछि स्थानीयमा खानेपानी समस्या ज्युँका त्युँ बनेको खाँडचक्र नगरपालिकाकी सुनपुरा शाहीले बताउनुभयो। ‘कहिलेकाहीँ पानीको निहुँमा समाजमा झगडा हुन्छ। उहाँले भन्नुभयो, ‘धारामा पानी आए आनन्द हुन्थ्यो। कसैसँग झगडा गर्नु पर्दैनथ्यो।’
‘एक घर, एक धारा’ अभियान अन्तर्गत तत्कालीन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाले २०७७ माघ ७ मा १५ करोड ६१ लाख ४८ हजारमा सम्झौता गरेको थियो। सम्झौता अनुसार २०७९ माघ १० भित्र कार्य सम्पन्न गर्नुपर्ने थियो, तर अहिलेसम्म कामले गति लिएको छैन। आयोजना अन्तर्गत संरचना निर्माण दुई बर्षअघि सम्पन्न भइसके पनि हालसम्म धारामा पानी भने नआएको खाँडाचक्र नगरपालिका– ३ मनराज पाण्डेले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हरेक वर्षको सुक्खायाममा खानेपानी हाहाकार मच्चिने गरेको छ। घर आँगनमा पाइप जोडेको दुई वर्ष भइसक्यो तर पानी छैन।’ उहाँले खानेपानी आयोजनाको काम गरेको पैसा समेत भुक्तानी नगरेर ठेकेदार कम्पनी ऋषि शक्तिरपराजुली कन्स्ट्रक्सन जेभी लमजुङ सम्पर्कविहीन रहेको उहाँको भनाइ छ। आयोजनाको मुख्य पाइप लाइनको लम्बाइ साढे १० किलोमिटरभन्दा बढी रहेको छ।
नेपाल सरकार मन्त्रीपरिषद बैठकले २०८१ चैत्र ११ गते खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्दै २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई १५ वटा स्थायी कार्यालय बनाउने निर्णय गरेको थियो।
यो निर्णयले जुम्लामा रहेको तत्कालीन संघीय खानेपानी तथा ढल व्यवस्थापन २०८२ साउन १ गतेदेखि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतले हेर्दै आएको छ । कार्यालय प्रमुख मनोजराज दैवज्ञले बजेट अभावमा चुलिमालिका बृहत् खानेपानी आयोजना सम्पन्न हुन नसकेको बताउनुभयो। यो संघीय सरकारको योजना हो। उहाँले भन्नुभयो ‘बर्सेनि थोरै थोरै मात्र बजेट आउँदा काम ढिलाइ भएको हो।’ उहाँले भन्नुभयो ‘चुलिमालिका बृहत् खानेपानीको भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत रहेको बताउनुभयो। खानेपानी ट्यांकी, पाइपलाइन लगायत संरचना निर्माण भएर पनि आयोजना अलपत्र अवस्थामा छ।’
स्थानीय लालबहादुर मल्लले भन्नुभयो, ‘यो आयोजना पहिल्यै सम्पन्न भइसक्नुपर्ने थियो। चुली खानेपानीको हकमा सरोकारवाला समेत मौन देखिएको उहाँको भनाइ छ। खानेपानीको चरम अभाव भोगिरहेको सदरमुकाम मान्म बजारमा हुँदै खानेपानीका लागि सुख्खा रहेका वडा नं १ देखि ४ सम्मका जनताले अहिले पनि खानेपानी सहज पहुँच पाउन सकेका छैनन्। निर्माण कम्पनी ऋषि शक्तिरपराजुली कन्स्ट्रक्सन जेभीका साइट सुपरभाइजर मानबहादुर थापा र दीपक थापा समेत सम्पर्कविहीन छन्।


97 पटक हेरिएको 

