सर्लाहीका नौं स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छताको तथ्यांक अद्यावधिक

  वास खबर सम्बाददाता  164 पटक हेरिएको

सर्लाही : नेपालका ११७ स्थानीय तहले खानेपानी, सरसफाइ तथा स्वच्छताको राष्ट्रिय सूचना प्रणालीमा तथ्यांक लिने कार्य थालनी नै नगरेको समयमा सर्लाहीका ९ स्थानीय तहले एकसाथ खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना अद्यावधिक कार्य थालनी गरेका छन् ।


मधेश प्रदेश सरकारको समन्वयमा लालबन्दी नगरपालिका, चन्द्रनगर, ब्रह्मपुरी, पर्सा, धनकौल, बसबरिया, कौडेना र रामनगर गाउँपालिकाले वास योजना अद्यावधिक गर्नका लागि तथ्यांक अद्यावधिक कार्यको थालनी गरेका हुन् । बागमती नगरपालिकाले यसअघि खास योजना तयार नगरेकोमा यस पटक तयारीमा जुटेको नगरपालिकाले जनाएको छ ।


खानेपानी, सरसफाइ तथा स्वच्छताका तथ्यांक अद्यावधिक कार्यका लागि ७७ जना सामाजिक गण्क र ४२ जना प्राविधिक गणकलाई तीन दिने एनवास सूचना प्रणालीमा तथ्यांक अद्यावधिक सम्बन्धी तालिम प्रदान गरी फिल्डमा परिचालन गरिएको साझेदार संस्था स्कलर्स कन्सल्ट प्रा.लि.का प्रवन्ध निर्देशक नेत्रलाल सापकोटाले दिनुभयो ।
सामाजिक गणकले १० प्रतिशत घरधुरीको तथ्यांक अद्यावधिक गर्नुका साथै विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक शौचालयको तथ्यांक अद्यावधिक गर्ने साझेदार संस्था आईडिएस नेपालका कार्यकारी निर्देशक प्रकाश कोइरालाले जानकारी दिनुभयो ।

सामाजिक तथ्यांक संकलन भइसकेको र अहिले प्रशोधनको क्रममा रहेको छ । यसैगरी खानेपानी प्रणालीको प्राविधिक तथ्यांक अन्तर्गत लालबन्दी नगरपालिकाका १० हजार नयाँ धारा, बागमती नगरपालिकाका ६ हजारभन्दा बढी धारा, पर्सा गाउँपालिकाका ३५१ सार्वजनिक खानेपानी प्रणाली, कौडेना गाउँपालिकाका करिब दुई सय धाराको तथ्यांक अद्यावधिक भइरहेको संस्थाका तर्फबाट लालबन्दी नगरपालिकाका संयोजक प्रतीक चालिसेले जानकारी दिनुभयो ।


संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागले यसै आर्थिक वर्षभित्र सबै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता तथ्यांक अद्यावधिक गरी वास योजना तयार गर्ने लक्ष्य रहे पनि अझै ११७ स्थानीय तहले तथ्यांक संकलन कार्य थालनी नै नगर्दा लक्ष्य भेटाउन भने मुस्किल पर्ने देखिन्छ ।

सबैभन्दा कम वास योजना बनेका कोशी र मधेश प्रदेशमा एसएनभी नेपालले प्रदेश सरकारमार्फत स्थानीय तहहरुलाई वास योजना तयारी र अद्यावधिक कार्यमा सहयोग गरिरहेको जानकारी एसएनभी नेपालका वास सल्लाहकार विभूषण कार्कीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार