सहरी फोहोर व्यवस्थापनबाट कृषिमा क्रान्ति

विवेक धिताल, काठमाडौ २० फागुन । नेपाल एक कृषिप्रधान देश हो भनेर सानैदेखि सुन्दै आएका छौं । तर, व्यवहारमा भने यो खासै देख्न र भोग्न पाएका छैनौं । १९६० को हरित क्रान्ति विश्वको विभिन्न भागमा कृषिमा कायापलट गराउन सफल रह्यो । तर, अब २०१६ मा आइपुग्दा त्यही १९६० को पद्धति अपनाएर हामी सफल हुन सक्दैनाै । त्यसै पनि हरित क्रान्तिको नकारात्मक पक्ष देखिँदै आएका छन् ।

अब हामीले विश्व बजारसँग प्रतिस्पर्धा गर्ने एउटै क्षेत्र भनेको प्रांगारिक कृषि हो । नेपालको अर्गानिक कफी कोरिया, जापान, अमेरिकालगायत अन्य देशमा निर्यात गरिन्छ । चिया, जाम, अमिलो, मह, एरोमेटिक बोट–बिरुवा, प्रांगारिक भएकै कारण महँगोमा निर्यात गरिन्छ । प्रांगारिक खेतीले हाम्रो स्वास्थ्य, अर्थतन्त्र, बजार र समाज सबैको विकास गर्न सक्छ । त्यसैले अर्धप्रांगारिक उत्पादन गर्न हामी सजिलै गर्न सक्छौं र त्यसकोे बजारीकरण गर्न पनि सजिलैसँग सक्छौं ।

सहरी क्षेत्रको फोहोरको मुख्य तत्व प्लास्टिक, कुहिने घरेलु फोहोर र मानव दिसापिसाब हो । यो फोहोर नभएर मोहोर हो । प्लास्टिक, सिसा र धातुजन्य फोहोरबाहेक अरू कुहिने फोहोर प्रांगारिक पदार्थको मुख्य स्रोत हो । सहरी क्षेत्रमा उत्पादन हुने फोहोरलाई कुहाएर चार–पाँच जनाका लागि पुग्ने तरकारी कौसीमा फलाउन सकिन्छ, त्यसका लागि मल उत्पादन गर्न सकिन्छ ।

कौसीखेती सम्भव नभए नगर, वडास्तरीय रूपमा कुहिने फोहोर संकलन गरेर कुहाउने र त्यो मल सहर नजिकको कृषिजन्य क्षेत्रमा ढुवानी गर्ने हो भने हामीले रासायनिक मलमा हुने खर्च जोगाउन सक्छौं । १९६८ मा नेपालमा ४ सय ७ टन युरिया खपत भएको थियो भने यो बढेर २०१३ मा १ लाख ४६ हजार १ सय १७ टन पुगेको थियो र अझै बढ्ने क्रम जारी छ । यसको कारण हामीले वातावरण संरक्षण, स्वास्थ्य, कृषि र अर्थ सबैको सामूहिक विकासमा अगाडि बढ्न सक्षम हुन्छाै ।

खोलानाला प्रदूषणमा मानव पिसाब मुख्य रहेको छ । एक व्यक्तिले वार्षिक लगभग ३ सय किलो दिसा उत्पादन गर्छ र त्यसमा ३.५ किलो नाइट्रोजन, १.५ किलो फोस्फोरस, २ किलो पोटास र केही मात्रामा बिरुवालाई चाहिने अन्य तत्व पाइन्छ र लगभग ५ सय लिटर पिसाब उत्पादन गर्छ । यसमा १५ किलो नाइट्रोजन, ३ किलो फोस्फरस र ५ किलो पोटास पाइन्छ । यसलाई पैसामा तुलना गर्ने हो भने वार्षिक रु. २ अर्ब ५० करोड खोलामा मिसिएर वा अन्य कुनै रूपमा खेर फालिरहेका छौं ।

अहिले विभिन्न किसिमको विकसित चर्पीको ढाँचा निर्माण भएका छन्, जसमा मान्छेको मल, मूत्रको प्रयोग एकदम सजिलो छ । यसका लागि इकोसान चर्पीको नमुना एकदम सरल र सस्तो पनि छ । यो चर्पीमा दिसापिसाब छुट्टाछुट्टै ठाउँमा जम्मा गरिन्छ र दिसामा खरानी वा माटो वा काठको भुस मिसाउनुपर्छ । ६–६ महिनामा ट्यांकी खाली गर्नुपर्छ । अहिले पनि सहरको सेफ्टी ट्यांकीको फोहोर उठाउन ट्रकको प्रयोग गरिन्छ र खोलामा लगेर फालिन्छ । फरक यति हो, यो चर्पीको मल ट्रकले उठाएर खेतीयोग्य जमिनसम्म लैजानुपर्छ । यो मलबाट दुर्गन्ध पनि आउँदैन, किनकि यो पूर्ण रूपमा कुहिएको हुन्छ । यो चर्पीमा पानीको खपत सामान्य चर्पीभन्दा एकदम कम हुन्छ, जसले सहरी क्षेत्रको बढ्दो पानीको माग कम गर्न मद्दत गर्छ ।

२०१५ को भूकम्पलाई समस्या नभएर अवसरका रूपमा हेर्ने हो भने देशमा थुप्रै नयाँ घरसँग थुप्रै नयाँ चर्पी बन्छन् । यदि नयाँ बन्ने घर, होटल, स्कुल आदिमा यो चर्पी वा अन्य कुनै भरपर्दो नमुना सहर र गाउँसम्म पु¥याउने हो भने वातावरण संरक्षण, कृषिको विकास र आर्थिक विकास सजिलै गर्न सकिन्छ । अब सहरको मल गाउँमा अनि गाउँको उपज सहरमा भित्र्त्याउने रणनीति अपनाउनुपर्छ ।
प्लास्टिकबाट पनि अन्य वस्तु निर्माण गर्न सकिन्छ । सहरको प्लास्टिक संकलन गरेर नजिकै एउटा यस्तो कारखाना सञ्चालन गर्ने हो भने दैनिक जीवनमा चाहिने यस्तो सामान आयात गरिराख्नु पर्दैनथ्यो । कुरा प्लास्टिक रहित सहरको पनि गर्न सकिन्छ, तर तत्कालीन अवस्थामा यो खासै सम्भव छैन । सोच्दा अप्ठ्यारो र असम्भव लागे पनि माथि उल्लिखित कुरा पूर्ण रूपमा सम्भव छ । यो सम्भव हुनका लागि राष्ट्रिय नीति अनि नगरपालिकाको मुख्य भूमिका रहेको छ । नगरपालिकाले नयाँ बन्ने चर्पी यस्तो वातावरणमैत्री हुनुपर्ने नीति–नियम भित्र्याउन खासै असहज नहोला ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार