अव्यवस्थित माछा पसलले वीरगन्जको मीनाबजार दुर्गन्धित

वीरेन्द्र कर्ण, वीरगन्ज २१ फागुन । अव्यवस्थित माछा पसलका कारण वीरगन्जको मीनाबजार कम्प्लेक्स र त्यसको चारैतिर दुर्गन्ध फैलिएको छ । वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको दुईतल्ले कम्प्लेक्सको माथिल्लो तल्लामा वासी तथा सडेगलेको माछा बिक्री गर्ने र आन्द्राभुँडी तथा कत्ला जथाभावी फाल्ने गरेकाले मीनाबजार दुर्गन्धित भएको हो ।

कम्पलेक्सभित्र २८ वटा माछा पसल तथा ६ वटा मासु पसल  छन् । माछाको दुर्गन्धले  बस्न नसकेर कतिपय व्यापारी त्यहाँबाट अन्तै गइसकेका छन् । भारतको आन्द्र प्रदेशबाट एक हप्ताको लामो बाटो पार गरेर हप्तामा करिब १० क्विन्टल माछा वीरगन्ज आयात गरिन्छ । गर्मी मौसम सुरु भएकाले ती माछा सडेकाले बढी दुर्गन्धित भएको हो । सरसफाइ, पानी, चर्पी र पानी निकासको अभाव रहेको क्षमताभन्दा बढी व्यापारी राखेका कारण बजार दुर्गन्धित भएको उपभोक्ताहरु बताउँछन् ।

मीनाबजार कम्प्लेक्सभित्र व्यापार गर्दै आएका वीरगन्ज उपमहानगरपालिका –४ का सखावत मियाँ दुर्गन्धकै कारण विरामी पर्नुभएको छ । माछा मासु व्यावसायी सङ्घका अध्यक्ष अन्सार मन्सुरीले भने सरसफाइ गरिरहेको दाबी गर्नुभएको छ । बजार व्यवस्थित नभएकाले दुर्गन्धका कारण नाक थुनेर हिड्नुपर्ने बाध्यता छ । बजार सरसफाइमा ध्यान नदिए गर्मीको मौसम आएकाले हैजा फैलने सम्भावना रहेको उपभोक्ताहरु बताउँछन् ।

कम्प्लेक्सको सरसफाइ ठेकेदारले नै गर्ने हो : योजना प्रमुख
वीरगन्ज उपमहानगरपालिका सँग प्रतिवर्ष एक करोड ३० लाखमा ३ वर्षका लागि  ठेक्का लिएका हुन विक्कीप्रसाद गुप्ताले । ठेकेदार गुप्ता भने नयाँ बजार भएकाले क्रमशः बजार व्यवस्थित हुदै जाने र फोहोर व्यवस्थापनको प्रबन्ध मिलाइने बताउनुहुन्छ ।

तर वीरगन्ज उपमहानगरपालिकाका योजना प्रमुख प्रकाशबहादुर अमात्य भने कम्प्लेक्सको भित्री भागको सरसफाइको जिम्मेबारी ठेकेदारकै भएको बताउनुहुन्छ । ‘उपमहानगरपालिकालाई बजारको बाहिरी भागको मात्र सरसफाइ गर्ने जिम्मेवारी छ, भित्र त ठेकेदारकै जिम्मेवारी हो, उसैले गर्छ’ योजना प्रमुख अमात्यले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार