काठमाडौं २२ फागुन । सरकारले यही फागुन २७ गते शुक्रबार सफाइ सम्मेलन गर्ने भएको छ । वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताको पूर्वसन्ध्यामा नेपाल सफाइ सम्मेलन गर्न लागेको हो ।
सहरी विकास एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा पशुपति क्षेत्र विकास कोषले आयोजना गर्न लागेको सम्मेलनमा कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले ‘पानी र वाग्मतीको धार्मिक सांस्कृतिक महत्व’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दीनेश थपलियाले ‘वाग्मती सफाइमा नेपाल सरकारले लिएको स्वामित्व’ र गायत्री परिवारका डा राजु अधिकारीले ‘वाग्मती सफाइको सुरुआत, निरन्तरता र भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
कार्यपत्रमा वाग्मतीको विषयमा अध्ययन अनुसन्धान गरिरहनु भएका अमेरिकी नागरिक विलियम थोब्स र पूर्वसचिव किशोर थापाले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको कोषका सदस्य सचिव गोविन्द टण्डनले जानकारी दिनुभयो ।
सम्मेलनमा देशभर सञ्चालन भइरहेको नदी सफाइ अभियानका ५०० अभियन्ताको सहभागिता रहनेछ । सम्मेलन पशुपति क्षेत्रस्थित माधवराज सुमार्गी भवनमा आयोजना गरिनेछ ।
यसैबीच फागुन २६ गते वाग्मती सम्बन्धी कवि सम्मेलन गरिनेछ । सम्मेलनमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीको समेत उपस्थिति हुने सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो । सफाइ महाअभियानको २०० औँ हप्तामा विशेष कार्यक्रम गर्ने यस अघि नै निर्णय गरिसकेको छ ।
वि.सं. २०७० जेठ ४ गतेदेखि अहिलेसम्म वाग्मतीबाट छ हजार ५०० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।