वाग्मतीमा ढल पाइप विछ्याउन आधा किलोमिटर मात्र बाँकी

लिखिता बराल, काठमाडौ २१ वैशाख । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मतीको दुवैतर्फी ढल विछ्याउने काम सक्नै लागेको जनाएको छ । गोकर्णदेखि बल्खुसम्मको दुवैतिर २८ किलोमिटर मध्ये साढे २७ किलोमिटर ढल विछ्याइसकेको समितिका आयोजना प्रमुख राजेश प्रसाद सिंले जानकारी दिनुभयो ।

‘ढल विछ्याउने काम अन्तिम चरणमा पुगेको छ, अब बाँकी पाँच सय मिटर पनि असार मसान्तसम्ममा सकिनेछ’ आयोजना प्रमुख सिंले बताउनुभयो । उहाँका अनुसार नदीको दुवैतर्फी ढल विछ्याइसकेपछि ढलकै कारण वाग्मतीमा हुने प्रदुषण हट्नेछ ।

‘वाग्मतीको दुवैतर्फी ढल विछ्याइसक्ने वित्तिकै ढल सन्चालनमा आउनेछ, यसले वाग्मतीमा ढलका कारण हुने समस्या हट्नेछ’ आयोजना प्रमुख सिं ले भन्नुभयो ‘वाग्मती सफाइ महाअभियान शुरु भएपछि पहिले जस्तो ढल सोझै नदीमा मिसाउनेको संख्यामा कमी आएको छ, अहिले पहिले जस्तो दुर्गन्धित छैन ।’

ढलको पानी प्रशोधन गरेर मात्र नदीमा

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढललाई अहिले पनि प्रशोधन गरेर मात्र नदीमा पठाइरहेको छ ।  आयोजना प्रमुख सिंका अनुसार गुहेश्वरीमा रहेको ढल प्रशोधन केन्द्रमा दैनिक १ करोड ६० लाख लिटर ढल प्रशोधन गरेर नदीमा पठाइरहेको छ ।

गुहेश्वरीमै उत्ति नै क्षमताको अर्को प्रशोधन केन्द्र निर्माणको काम पनि शुरु भएको र डेढ बर्षभित्र ती ढल प्रशोधन केन्द्र पनि सम्पन्न हुने आयोजना प्रमुख सिंले जानकारी दिनुभयो । समितिले धोवीखोला र विष्णुमतिमा समेत ढल विछ्याउने काम गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार