कलैया २१ वैशाख । सधैं जस्तै आज पनि निगरानी समूह र गाविस स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरु विहान टोलमा मानिसहरु नउठ्दै परिचालित भएका थिए ।
प्रहरी सहितको टोली बाराको गद्दी गाउँपालिकाको वडा नं. ३ खोपवा र श्रीपुरमा खटिए । खोपवा र श्रीपुरमा खुला दिसा गरिरहेका १२ जना समूहको फन्दामा परे ।
खुला ठाउँमा दिसा गरिरहेका उनीहरुलाई आगामी दिनमा खुला ठाउँमा दिसा नगर्ने वाचा गरेर छाडिएको छ । उनीहरुलाई भद्र भलादमीको रोहबरमा खुला ठाउँमा दिसा नगर्ने शर्त सहित छाडिएको हो ।
गद्दी गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्न भीवाससिसिको अगुवाइमा वडा स्तरसम्म विभिन्न समिति गठन गरी सरसफाइ अभियान सञ्चालन भइरहेको छ । गाउँमा सरसफाइ अभियान भइरहेपनि खुला ठाउँमा लुकीछिपी दिसा गर्ने क्रम अझै हटेको छैन ।