म्याग्दी २२ वैशाख । धौलागिरी हिमालको आधारशिविरमा थुप्रिएको फोहोर राउण्ड धौलागिरी युवा क्लव मुदीले हटाउने भएको छ ।
धौलागिरी गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरी हिमालको आधार शिविरमा बर्षौदेखि आरोहीले फालेका फोहोर थुप्रिएको प्रति आफूहरुको ध्यानाकार्षण भएको क्लबका अध्यक्ष दिलबहादुर पुनले बताउनुभयो ।
क्लबले हालै धौलागिरी आधार शिविरमा पुगेर फोहोरको अवस्थाबारे अध्ययन गरेको छ । आधारशिविरमा अहिलेपनि दुर्घनाग्रस्त हेलिकप्टरका पार्टपूर्जादेखि पर्यटकले प्रयोग गर्ने टेन्ट, सिलिन्डर, फलाम र प्लाष्टिकका टुक्रा यत्रतत्र छरिएको भेटिएको क्लबका कोषाध्यक्ष पूर्णबहादुर पुर्जाले बताउनुभयो ।
क्लबका ९ जनाको टोलीले पाँच दिन लामो पदयात्रा मार्फत धौलागिरि आधारशिविर क्षेत्रमा थुप्रिदै गएको फोहोरको स्थलगत निरीक्षण र अध्ययन गरेको थियो ।
अध्ययन टोलीले धौलागिरि आधारशिविर क्षेत्रमा थुप्रिन थालेको फोहोरलाई तत्काल व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन जिल्ला समन्वय समिति र धौलागिरि गाउँपालिका कार्यालयमा लिखित आग्रह गरिसकेको छ ।
यस क्षेत्रमा हेलिकप्टर मार्फत पु¥याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरण समेत आधार शिविरमै अव्यवस्थित तवरले फालिदै आएको छ । आधारशिविर क्षेत्रमा सरकारी उपस्थिति र निगरानी नभएकाले फोहोर बढेको मुदीका पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो ।
केहीवर्ष अगाडि पर्यटन मन्त्रालयले लाखौ खर्च गरेर धौलागिरि आधारशिविरको फोहोर व्यवस्थापन गर्न काठमाडौबाट एक टोली परिचालन गरे पनि उक्त टोलीले फोहोर व्यवस्थापन गर्नुको साटो औपचारिकता मात्रै पूरा गरेर फर्किएको स्थानीय पर्यटन व्यवसायीको गुनासो छ । धौलागिरी आधारशिवीर, बगराबाट पाँच दिनको पैदल दुरीमा पर्छ ।


1015 पटक हेरिएको 

