नझुक्किनुहोस् ! यो वाग्मती किनार नै हो (भिडियो)

काठमाडौ २३ वैशाख । ‘वाग्मती सरसफाइ महाअभियान शुरु नभएको भए वाग्मती यत्तिबेला फोहोरले नै पुरिसक्थ्यो होला ?’ आजकल वाग्मतीको चर्चा चल्ने वित्तिकै धेरैजसो मानिसहरु यसै भन्न थाल्छन् । त्यत्तिबेलै ढल मात्र बग्न थालेको वाग्मतीको नाम समेत ढलमती भइसकेको थियो ।

तर वाग्मती सफाइ महाअभियानले वाग्मतीको स्वरुप यसरी फेरिदै गएको छ कि ? त्यस्तै मानिसलाई पत्याउन समेत गाह्रो पर्छ । आज हामी यस्तै अपत्यारिलो दृश्य देखाउँदैछौं, दिक्पाल गिरीको सामग्री :

यो संखमुलमा बनाएको उद्यानको दृश्य हो । वाग्मती किनारमा बनाएको यो उद्यान यत्ति मनमोहक छ कि उद्यान भित्र पसेपछि निस्कन समेत मन लाग्दैन । लहरै रोपिएका विरुवाहरु, विभिन्न जातका फूलहरु र वरपरको दृश्यले तपाईलाई त्यही बसिरहन वाध्य गराउँछ । यो उद्यान दि आर्ट अफ लिभिङ नामक संस्थाले बनाएको हो ।

वाग्मती किनारै किनार यस्ता थुप्रै उद्यान बनेका छन् । जहाँ केही बर्ष पहिलेसम्म फोहोर थुप्रिएको हुन्थ्यो, मानिसहरु नाक थुनेर हिड्थे तर त्यही ठाउँमा आज उद्यान बनेका छन् वृक्षारोपण गरिएको छ मानिसहरु ताजा सास फेर्न आउँछन् ।

फोहोरै फोहोर मात्र हुने वाग्मतीको सबैतिर अहिले हरेक खण्डमा फरक फरक दृश्य देख्न पाइन्छ । कतै मनै भुलाउने खालका बगैंचा, कतै हरियाली, कतै जंगलजस्तै बाक्लो र ठूला रुख अनि कतै चाहिं व्याटमिन्टन तथा टेबुलटेनिस जस्ता खेल स्थल समेत छन् ।

अहिलेसम्म वाग्मती सफाइमा ७ लाख २१ हजार ९ सय ३० जनाले सहभागिता जनाइसकेको वाग्मती सफाइ अभियन्ता माला खरेलले जानकारी दिनुभयो । वाग्मती सफाइ महाअभियानले आज २०८ औं हप्ता पूरा गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार