काठमाडौमा पानी खुवाउन भन्दा फोहोर पानी प्रशोधन गर्न तीन गुणा बढी खर्च

काठमाडौ २६ वैशाख । काठमाडौ उपत्यकामा पानी खुवाउन लाग्ने खर्च भन्दा प्रदूषित पानी अर्थात ढल प्रशोधन गर्न तीन गु्णा बढी लागत पर्ने देखिएको छ । ढल प्रशोधन खानेपानी प्रशोधन गर्ने प्रविधिको तुलनामा बढी जटिल हुने भएकाले खर्चिलो भएको खानेपानी तथा सरसफाइ सचिव भीमप्रसाद उपाध्यायले फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।

सचिव उपाध्यायले आफ्नो फेसबुकमा लेख्नुभएको छ ‘ढल प्रशोधनको महसुल पानीको भन्दा झण्डै ३ गुणा धेरै हुने देखिन्छ । त्यसैले सहरमा बस्नु खर्चिलो बन्दै गएको हो ।

काठमांडौंमा अहिले ५० करोड लिटर दैनिक ढल प्रशोधन गर्नुपर्ने आवश्यकता छ भने हालको क्षमता १ करोड ६५ लाख लिटर प्रति दिन छ ।’ उहाँका अनुसार अहिले प्रतिदिन ३ करोड ३ लाख लिटर थप क्षमताका ढल प्रशोधन केन्द्र निर्माणको क्रम सुरु भएको छ भने थप करिब ४० करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण गर्ने योजना रहेको छ ।

कहाँ कहाँ बन्दैछन् ? ढल प्रशोधन केन्द्र

ढल प्रशोधन केन्द्र १ —सचिव उपाध्यायका अनुसार काठमांडौै उपत्यकाको ४ ठाउँमा ढल प्रशोधन केन्द्रको निर्माण सुरु भएको छ । उहाँका अनुसार गुहेश्वरीमा दैनिक १ करोड ६५ लाख लिटर प्रशोधन गर्न सकिने क्षमताको ढल निर्माण भइरहेको छ ।

ढल प्रशोधन केन्द्र २ — दोस्रो ढल प्रशोधन केन्द्र भक्तपुरको सल्लाघारीमा निर्माण शुरु भएको छ । यसले दैनिक १ करोड ४२ लाख लिटर ढल प्रशोधन गर्नेछ ।

ढल प्रशोधन केन्द्र ३ — कोड्कुमा निर्माण भइरहेको ढल प्रशोधन केन्द्रले दैनिक १ करोड ७५ लाख लिटर ढल प्रशोधन गर्ने सचिव उपाध्यायले जानकारी दिनुभयो ।

ढल प्रशोधन केन्द्र ४ — दैनिक ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने गरी  धोबीघाट ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ । अहिले निर्माणाधीन अवस्थामा रहेका ढल प्रशोधन केन्द्रहरु मध्ये यो सबैभन्दा ठूलो क्षमताको प्रशोधन केन्द्र हो । काठमाडौ उपत्यकामा अहिले गुहेश्वरीमा दैनिक १ करोड ६५ लिटर ढल प्रशोधन भइरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार