लिखिता बराल, काठमाडौ ३१ वैशाख । वाग्मती सरसफाइ महाअभियानसँगै देशका २६ ठाउँमा सरसफाइ गरिएको छ । झापा, सिरहा, पोखरा र तुलसीपुर लगायत २६ ठाउँको सफाइ गरी झण्डै ३० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको वाग्मती सफाइ महाअभियानकी अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार वाग्मती सफाइ महाअभियानको २ सय ९ औँ हप्तामा थापाथली पुल पारी ललितपुर तर्फको क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
आजको वाग्मती सफाइमा पूर्व सचिव केशव भट्टराइ, किशोर थापा, डा. राजु अधिकारी, एल पी भानु शर्मा, पूर्व एआइजी विज्ञानराज शर्मा, एसपी गणेश ऐर लगायत सहभागी हुनुहुन्थ्यो ।
अर्को हप्ता पनि थापाथलीको ललितपुर तर्फको भागमा सफाइ गरिने महाअभियानले जनाएको छ ।
पोखरा र झापा ५० औं हप्तामा
पोखरा र झापा सरसफाइ अभियानले ५० औं हप्ता पार गरेको छ । झापाको विर्तामोड सरसफाइको पचासौं हप्तामा सरसफाइ अभियानमा संलग्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको सफाइ अभियन्ता सरोज सत्याललाई उदृत गर्दै अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।
झापाको विर्तामोड सरसफाइलाई स्थानीयबासिन्दासँग सहकार्य गरी अझ प्रभावकारी रुपमा सन्चालन गर्ने जनाएको छ ।
यस्तै पोखरा सफाइ अभियानलाई एक बर्ष पुगेको अवसरमा विशेष बनाइने भएको छ । अबको दुई हप्ता पछि पोखरा र झापा सरसफाइले एक बर्ष पूरा गर्दैछ ।
कुन कति औं हप्तामा ?
लहान सरसफाइ अभियान १२५ औं हप्तामा पुगेको छ । यस्तै विष्णुमति सफाइको १४० औं हप्तामा घरदैलो कार्यक्रम गर्दै चक्रपथ सफाइ गरिएको छ । तिलगंगा महिला समूहले ११६ औं हप्ताको कार्यक्रम अन्तर्गत घरदैलो र जनचेतनामूलक कार्यक्रम गरेको छ ।
पूडासैनी मैत्री समाज र राम्रो जोरपाटी, हाम्रो जोरपाटीले १७० औं हप्तामा नदीकिनार र बगैंचाको सरसफाइ सम्पन्न गरेको छ । सरसफाइमा सहभागी ८० जनाले १ मेट्रिक टन फोहोर व्यवस्थापन गरेको छ ।
यस्तै चक्रपथ सफाइको पाँचौं हप्तामा २ सय जनाको सहभागितामा बसुन्धरा चोकबाट उत्तरपूर्व तर्फको सरसफाइ गरिएको छ । रुद्रमति सफाइ भने चुनावका कारण स्थगित गरिएको छ ।