प्रसन्न तामाङ, काठमाडौ ६ जेठ । वाग्मती सफाइ महाअभियान चौथो बर्ष पूरा गरी पाँचौं बर्षमा प्रवेश गरेको छ । २०७० साल जेठ ५ गते कुरुप बन्दै गएको वाग्मतीलाई केही गरौं भन्ने अठोटले उठेका हातहरुले अहिलेसम्म ८ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गर्दै चौथो बर्षबाट पाँचौ बर्षको सरसफाइ यात्रा आरम्भ गरेको हो ।
पाँचौ बर्षको पहिलो हप्ताको सरसफाइ डा. विश्वनाथ ओली, ललितपुर महानगरपालिकाका नव निर्वाचित वडा अध्यक्ष नरसिंह व्यन्जनकार, हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार कुमार कट्टेल सहितको टोली र अन्य सयौं स्वयंसेवकहरुको सहभागितामा थापाथली पुलको आसपास ललितपुरतिरको भागमा गरिएको छ । वाग्मती सरसफाइले चार बर्षको अवधिमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ ।
उपलब्धी १ : ठूलो मात्रामा फोहोर संकलन तथा व्यवस्थापन
वाग्मती सरसफाइ महाअभियान शुरु भएपछि कहिल्यै रोकिएन । देशमा ठूलो भूकम्प आयो, नाकाबन्दी भयो, चाडपर्व आए तर पनि वाग्मती सरसफाइ महाअभियान अघि बढिरह्यो । बर्षातको भेल र हिउँदको कठंग्रिदो जाडोमा पनि पानी भित्र पसेर फोहोर संकलन गर्न अभियन्ताहरु क्रियाशील रहे ।
जसका कारण अहिलेसम्म काठमाडौ उपत्यकाका नदीनालाहरुमा ७ लाख ३० हजार स्वयंसेवकको सहभागितामा ८ हजार ३ सय मेट्रिक टन भन्दा बढी फोहोर संकलन गरी व्यवस्थापन गरिएको सफाइ अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।
उपलब्धी २ : ढल विछ्याउने कामले तीब्रता
वाग्मती नदीको दुवै किनारमा डेढ दशकदेखि गति लिन नसकेको ढल बिछ्याउने काम यसै अभियानको बलमा अगाडि बढेको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मतीको दुवैतर्फी ढल विछ्याउने काम शुरु गरेको हो ।
अहिलेसम्म गोकर्णदेखि बल्खुसम्मको दुवैतिर २८ किलोमिटर मध्ये साढे २७ किलोमिटर ढल विछ्याइसकेको समितिका आयोजना प्रमुख राजेश प्रसाद सिंले जानकारी दिनुभयो ।
उपलब्धी ३ : अतिक्रमित जग्गा खाली गर्ने र फोहोर फ्याक्नेलाई जरीवाना
वाग्मती सफाइ महाअभियान शुरु भएपछि नदी किनारका अतिक्रमित जग्गा खाली गर्न थालेको छ । जथाभावी फोहोर फ्याक्नेलाई पनि फोहोरमैला व्यवस्थापन ऐन बमोजिम कार्वाही गरिएको छ । जसका कारण जथाभावी फोहोर फाल्ने बानीमा परिवर्तन आएको छ । काठमाडौ तथा ललितपुर महानगरपालिकाले यस अवधिमा जथाभावी फोहोर फाल्ने सयौं जनालाई कार्वाही गरेको छ ।
यसबाट नदीकिनारा तथा स्थानीय बासिन्दाको आनीबानीमा परिवर्तन आएको छ । यद्यपि जग्गा अतिक्रमण र जथाभावी फोहोर फाल्न अझै छाडिएको छैन ।
उपलब्धी ४ : ढल प्रशोधन गर्ने बृहत कार्यक्रम शुरु
वाग्मती सफाइ महाअभियान शुरु भएपछि सरकारले ढल प्रशोधन गर्ने बृहत योजना अघि बढाएको छ । खानेपानी तथा सरसफाइ सचिव भीम प्रसाद उपाध्यायका अनुसार अहिले उपत्यकाको ४ ठाउँमा ढल प्रशोधन केन्द्रको निर्माण सुरु भएको छ ।
उहाँका अनुसार गुहेश्वरीमा दैनिक १ करोड ६५ लाख लिटर, भक्तपुरको सल्लाघारीमा दैनिक १ करोड ४२ लाख लिटर , दैनिक १ करोड ७५ लाख लिटर र धोबीघाटमा दैनिक ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने गरी ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।
उपलब्धी ५ : वाग्मती किनारमा उद्यान निर्माण तथा बृक्षरोपण
वाग्मतीलाई स्वच्छ, सफा र हराभरा बनाउनका लागि वाग्मती किनारमा थुप्रै बगैंचाहरु निर्माण भएका छन् भने सयौं बोटविरुवा रोपिएका छन् । पहिलो फोहोर फाल्ने ठाउँमा अहिले बोटविरुवाले शीतलता दिन थालेको छ ।
उपलब्धी ६ : स्थानीयबासिन्दाको उत्कृष्ट सहभागिता
यही अभियानले स्थानीय समुदायको उत्कृष्ट सहभागिता जुटाएको छ । पुडासैनी मैत्री समाज, हाम्रो जोरपाटी राम्रो जोरपाटी र माकलबारी समाजले संयुक्त रुपमा सफाइ सँगसँगै नदीकिनारका हजारौं बिरुवाहरुको संरक्षण गरिरहनु यसैको नमुना भएको सफाइ अभियन्ता उमेश बोहोराले जानकारी दिनुभयो ।
उपलब्धी ७ : देशैभर सफाइ अभियान शुरु
वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशका विभिन्न ठाउँमा पनि नदी सफाइ अभियान शुरु भएका छन् । वाग्मती सफाइ महाअभियानबाटै प्रेरित भएर देशका पोखरा, नवलपरासी, झापा, सिरहा लगायत २६ जिल्लामा साप्ताहिक रुपमा सरसफाइ भइरहेको सफाइ अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।
उपलब्धी ८ : देशबाहिर पनि सफाइ
वाग्मती नदी सफाइको अनुसरण देशभित्र मात्र नभई देशबाहिर पनि हुन थालेका छन् । वाग्मती सफाइका अभियन्ता उमेश बोहोराले फेसबुमा उल्लेख गरे अनुसार भारत, बंगलादेश, कम्बोडिया लगायतका देशमा समेत नदी सफाइ अभियान शुरु भएको छ ।
उपलब्धी ९ : अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
वाग्मती सरसफाइ महाअभियानले संयुक्त राष्ट्रसंघ अन्तर्गत UN–Habitat को एसियन टाउनस्केप अवार्ड प्राप्त गरेको छ । अभियानले गरेको कामको प्रशंसा गर्दै संयुक्त राष्ट्र संघले यो पुरस्कार प्रदान गरेको हो ।
अभियन्ता उमेश बोहोराले यी सबै उपलब्धीका हिस्सेदार, सफाइ महाअभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी हुनुहुने सम्पूर्ण सहयोगी हातहरु, अथक पाइलाहरु, पौरखी पाखुराहरु, स्वयंसेवी भावनाहरु तथा अविचलित मनहरु प्रति फेसबुक मार्फत सम्मान व्यक्त गर्नुभएको छ ।