प्रसन्न तामाङ, काठमाडौ ८ जेठ । यसबर्षको सफा शहरको प्रतिस्पर्धामा ६ वटा नगरपालिका छनौट भएका छन् । सफा शहर छनौटका लागि प्रस्ताव पेश गरेका १५ वटा नगरपालिकाबाट प्रारम्भिक मूल्याङ्कन गर्दा भरतपुर महानगरपालिका, धरान, हेटौडा र बुटवल उपमहानगरपालिका तथा धनकुटा नगरपालिकालाई छनौट गरिएको हो ।
छनौट गरिएका नगरपालिका मध्येबाट स्थलगत प्रमाणीकरण र अनुगमनका आधारमा तीन वटा नगरपालिकालाई सफा शहरको रुपमा छनौट गरी विश्व वातावरण दिवसका दिन पुरस्कृत गरिने फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिनुभयो ।
यस बर्षको सफा शहर छनौटका लागि भरतपुर र पोखरा लेखनाथ महानगरपालिका, धरान इटहरी, हेटौडा र बुटवल उपमहानगरपालिकाले प्रस्ताव पेश गरेका थिए । यस्तै रेसुङ्गा रामधुनी, इलाम, वालिङ, घोरही, धनकुटा, बेनी, कुश्मा र बीरेन्द्रनगर नगरपालिकाले पनि प्रस्ताव पेश गरेका थिए ।
छनौटमा परेका ६ वटा नगरपालिका मध्ये इलाम र धनकुटा नगरपालिका तथा धरान उपमहानगरपालिकाको स्थलगत प्रमाणीकरण र स्थलगमन अनुगमन भइसकेको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका सहायक प्रबन्धक टोपाराम आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार छनौटमा परेका अन्य तीन वटा नगरपालिकाको प्रमाणीकरण र अनुगमन गर्ने काम सकिएपछि मूल्याङ्कन समितिले सफा शहर मध्ये पहिलो, दोस्रो र तेस्रो छुट्याइनेछ ।
सफा शहर छनौटका लागि मूल्याङ्कन समिति
सफा शहर छनौटका लागि फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीको संयोजकत्वमा ६ सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ । मूल्याङ्कन समितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थापन शाखाका प्रमुख, खानेपानी तथा सरसफाइ मन्त्रालयका उपसचिव, विज्ञको तर्फबाट फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका सन्तोष श्रेष्ठ, नेपाल नगरपालिका संघका कार्यकारी सचिव सहित ४ जना सदस्य र सफा शहर कार्यक्रम हेर्ने अधिकृत सदस्य सचिव हुनुहुन्छ ।
मूल्याङ्कन समितिले गरेको प्रारम्भिक मूल्याङ्कनबाट बढी अंक प्राप्त ६ वटा नगरपालिका मध्ये तीन वटा नगरपालिकाको स्थलगत अध्ययन र प्रमाणीकरण भइसकेको र बाँकी तीन वटा नगरपालिकाको स्थलगत अध्ययन र प्रमाणीकरण पनि चाँडै गरिने मूल्याङ्कन समितिमा विज्ञको तर्फबाट सदस्य रहेका सन्तोष श्रेष्ठले बताउनुभयो ।
‘प्रमाणीकरण तथा स्थलगत अनुगमनका क्रममा उहाँहरुले प्रस्ताव पेश गर्दा दाबी गरेजस्तो काम भईरहेको छ कि छैन ? फोहोरमैला व्यवस्थापन, खानेपानी तथा ढल व्यवस्थापन, प्रदुषण नियन्त्रण, हरियाली प्रवद्र्धन तथा शहरको सौन्दर्य बढाउने काम भइरहेको छ वा छैन भन्ने हेर्छौ र सोही आधारमा अंक प्रदान गर्छौ’ विज्ञ श्रेष्ठले भन्नुभयो ।
के लाई कति नम्बर ?
सफा शहर हुनका लागि पहिलो शर्त हो खुला दिसामुक्त नगर हुनैपर्ने । तर यत्ति हुदैमा मात्र सफा शहर हुन सक्दैन यसका लागि फोहोर व्यवस्थापन राम्रो सँग गरेकौ हुनुपर्छ । फोहोर व्यवस्थापनमा मात्र अंक भार ५० तोकिएको छ ।
यस अन्तर्गत फोहोरमैला व्यवस्थापन अध्ययन तथा योजना बनाए नबनाएको, स्रोतमा फोहोर पृथकीकरण र न्यूनिकरण, स्रोतमा पृथकीकरण गरेको फोहोरलाई घरदैलोबाट छुट्टाछुट्टै संकलन तथा ढुवानीको व्यवस्था गरे नगरेको, कम्पोष्टिङ र उर्जा प्रोत्साहन कार्यक्रम, पुनचक्रिय फोहोर संकलन र व्यवस्थापन, कोशी खेती, करेसाबारी वा प्राङ्गरिक कृषि खेतीलाई प्रोत्साहन गरे नगरेको, यस्तै प्लाष्टिक झोला नियन्त्रण, निजी संस्थाको सहकार्यमा फोहोर संकलन गर्ने व्यवस्था, स्यानिटरी ल्याण्डफिल साइटको सञ्चालन र व्यवस्थापन, सार्वजनिक स्थल नियमित सरसफाइ र समुदाय परिचालन गरे नगरेको, टोल सरसफाइ कार्यक्रम, फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना, सेवा शुल्क तथा अनुगमनको व्यवस्था गरे नगरेको जस्ता विषयको मूल्याङकन गरिनेछ ।
यस्तै खानेपानी तथा ढल व्यवस्थापनका लागि १५ अंक तोकेको छ । यसमा पनि सार्वजनिक शौचालयको सुविधा तथा नियमित व्यवस्थापन, खानेपानी आपूर्ति तथा व्यवस्थापन, ढल व्यवस्थापन र प्रशोधन, नगरपालिकाको घरघरमा आकाशे पानी संकलन, योजना र कार्यान्वयन प्रोत्साहन गरेको जस्ता विषय हेरिनेछ ।
सफा शहरको अर्को मापदण्ड हो हरियाली विकास र कहरी सौन्दर्य प्रबद्र्धन । यसका लागि १९ अंकभार तोकेको छ । यसमा पनि हरियाली विकास र शहरी सौन्दर्य प्रवद्र्धन योजना बनाए नबनाएको, शहरी सौन्दर्य प्रबद्र्धन र नियम पालना गरे नगरेको र पशु बधशाला व्यवस्थापन गरे नगरेको हेरिनेछ ।
सफा शहर हुनका लागि प्रदुषण नियन्त्रण र व्यवस्थापन गरेको पनि हुनुपर्छ । यसका लागि वायु प्रदुषणको नियन्त्रण गरे नगरेको, ध्वनि प्रदुषणको नियन्त्रण, औद्योगिक प्रदुषणको नियन्त्रण गरे नगरेको मूल्याङ्कन हुनेछ । यसमा ६ अंकभार तोकेको छ ।
यत्ति भएर मात्र सफा शहर भएको मानिने छैन । संस्थागत विकासको पाटो पनि सफा शहरको अर्को मापदण्ड हो । यसका लागि जस अन्तर्गत वातावरण मैत्री स्थानीय शासन समन्वय समिति गठन र क्रियाशीलताको पक्ष हेरिनेछ ।
यस्तै टोल सुधार समितिको गठन भए नभएको, वातावरण संरक्षणमा सामाजिक परिचालन र नागरिक सहभागिता रहे नरहेको, अनुगमन तथा मूल्याङकन, नगरपालिकाले सन्चार माध्यमबाट वातावरण संरक्षणको विविध विषयमा नियमित कार्यक्रम प्रस्तुत गरे नगरेको र नगरपालिकाले नगरबासीलाई वातावरण्ढा संरक्षण सम्बन्धी केही समस्या परेमा तत्काल थाहा दिने प्रणालीको विकास गरे नगरेको पक्षको समेत मूल्याङ्कन गरिनेछ । यसमा १० नम्बर अंक भार राखिएको छ ।
सरकारले सन् २०१४ देखि सफा शहरको मापदण्ड तोकेर त्यसै अनुसार प्रस्ताव आव्हान गरी हरेक बर्ष प्रथम, द्धितिय र तृतीय सफा शहर छुट्याई नगद पुरस्कार प्रदान गर्दै आएको छ । यस बर्ष प्रथम हुने शहरलाई १० लाख, दोस्रोलाई ६ लाख र तेस्रोलाई ४ लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ । पुरस्कार रकम फोहोरमैला व्यवस्थापन प्रवद्र्धन गर्ने काममा खर्च गर्नुपर्नेछ ।