रामेछाप ९ जेठ । रामेछापको लामा गाउँमा प्रदुषित पानी पिउँदा गाउँका १ सय भन्दा बढी बिरामी परेका छन् । पानी खाएका बालबालिका देखि बृद्धबृद्धा सम्मलाई झाडापखाला लाग्ने, टाउँको दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने जस्ता समस्या देखिएको छ ।
गाउँकै सबैजसो विरामी भएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.प्रकाशप्रसाद शाहले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालमा भएको सैयाले नपुगेपछि भुइँमै राखेर उपचार गराइरहेको डाक्टर शाहले जानकारी दिनुभयो । रामेछापको जिल्ला अस्पताल १५ शैयाको मात्र रहेको छ ।
बिरामीको चाप धेरै भएकाले भुँइमै राखेर उपचार गराउनुपरेको र चिकित्सक सहितको टोलीले गाउँमा पुगेर पानीको मुहान र ट्याङ्की निरीक्षण गर्न थालेको उहाँले बताउनुभयो । लामा गाउँका बासिन्दाले पानी पिउने खिरेपानी खोलाको पानी परिक्षणका लागि काठमाडौ पठाएको उहाँले जानकारी दिनुभयो ।
पाँच दिनका लागि स्कुल बन्द
यस्तै, विद्यार्थीहरु बिरामी परेपछि रामेछाप बजारको गंगालाल एकेडेमी वोर्डिङ्ग स्कूल ५ दिनका लागि बन्द गरिएको छ । खानेपानीको अरु विकल्प नहुँदा लामा गाउँका २१ परिवारले खिरेपानी खोलावाट ल्याइएको पानी ट्यांकीमा संकलन गरेर उपभोग गर्दै आएका छन् । वर्षा सुरु भएसँगै खोलामा प्रदूषण बढेको छ ।