भक्तपुरका मेयर सहित निर्वाचित जनप्रतिनिधिले गरे, ढलको निरीक्षण

भक्तपुर १३ जेठ । भक्तपुर नगरपालिकाका मेयर सहित नव निर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको स्थलगत निरीक्षण गर्नुभएको छ । हनुमन्ते खोला सफाइ परियोजना अन्तर्गत हनुमन्ते खोला किनारमा विस्तार भइरहेको ढलको पाइप सानो भएको जनगुनासो आएपछि मेयर सुनिल प्रजापतिको नेतृत्वमा उप मेयर रजनी जोशी, नगरपालिकाका कर्मचारी र परियोजनाका अधिकारीको संयुक्त टोलीले ढलको स्थलगत निरीक्षण गरेको हो ।

स्थलगत निरीक्षणका क्रममा ढलका लागि प्रयोग गरिएको ह्युम पाइप १६ इन्चको मात्र भएकाले ढलको व्यवस्थापनमा समस्या आउन सक्नेमा मेयर लगायत  जनप्रतिनिधिले चासो राख्नु भएको थियो । त्यस्तै खोला किनारमा निर्माण गरिएको पर्खालले खोला साँगुरो भएको गुनासो समेत व्यक्त गरिएको थियो ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का इञ्जिनियर किशोर पन्थीले वर्षातको पानी र फोहर पानीका लागि छुट्टै व्यवस्था गर्नुपर्ने भएकाले पाइप सानो राखिएको जानकारी दिनुभयो । स्थलगत निरीक्षणका क्रममा पाइप सानो हुने देखिएको बताउँदै उहाँले वर्षातको पानी र फोहर ढलको पानी व्यवस्थापनका लागि थप अध्ययनको आवश्यक महसुस भएको जानकारी दिनुभयो ।

स्थलगत निरीक्षणपछि मेयर प्रजापतिले नगरका जनप्रतिनिधि, प्राविधिक टोली र अन्य सम्बन्धित निकायलाई आमन्त्रण गरी संयुक्त बैठक आयोजना गरेर फोहर ढल व्यवस्थापन र खोला सफा गरी नगरलाई स्वच्छ र सफा बनाउने विषयमा थप छलफल गरिने बताउनुभयो ।

यसअघि गत बुधबार प्रजापतिले हनुमन्ते खोलामा विस्तार भइरहेको ढलको विषयमा परियोजनाका अधिकारीसँग छलफल गर्नुभएको थियो । रासस


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार