डोटी १५ जेठ । गर्मी बढ्दै जाँदा झाडापखाला, ज्वरो, आउँ जस्ता रोगका प्रकोप हुने सम्भावनालाई ध्यानमा राखी डोटीका सामुदायिक बिद्यालयमा सरसफाइ सम्बन्धी कार्यक्रमलाई तीव्र पारिएको छ ।
दिपायल सिलगढी नगरपालिकाले नगर भित्रका सामुदायिक बिद्यालयहरुमा साबुन पानीले हात धुने र शुद्ध पानी पिउने तरिका सिकाउने अभियान नै थालेको छ ।
नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको भएपनि समुदायमा चर्पीको प्रयोग र सरसफाइ सम्बन्धी सचेतना फैलाउनुपर्ने आवश्यकता देखिएकाले बिद्यार्थीहरु मार्फत सरसफाइ अभियान चलाएको नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेश जोशीले बताउनुभयो ।
साबुनले हात धुने तरिका, हात धुदा हुने फाइदाका विषयमा बिद्यार्थीहरुलाई सामुहिक रुपमा सिकाएको दिल्पेश्वर माबिका प्रधानाध्यापक दिर्घ कठायतले बताउनुभयो । ‘बिद्यार्थीहरुमा सकारात्मक सन्देश गएको छ, गर्मीको समयमा फैलन सक्ने रोगहरुबाट बच्न यसले सहयोग हुने आशा गरेको छु ।’ उहाँले भन्नुभयो ।
उहाँले बिद्यार्थी मार्फत अभिभावकसम्म पनि सन्देश जाने भएकाले यसलाई बिद्यालयमा नियमित रुपमा अतिरिक्त क्रियाकलापका रुपमा संञ्चालन गरिने बताउनुभयो । नगरभित्रका १४ बिद्यालयमा अभियान संञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
नमुनाका रुपमा जिल्ला शिक्षा अधिकारी, बिद्यालयका प्रधानाध्यापक, नगरपालिकाका कर्मचारीको सहभागितामा बिद्यार्थीलाई हात धुने बिधी सिकाइएको हो ।