३७ बर्षमा चर्पी बनाउनेको संख्या ८५ प्रतिशतले बृद्धि

काठमाडौ २१ जेठ । नेपालमा विगत ३७ बर्षमा चर्पी बनाउनेको संख्या ८५ प्रतिशतले बृद्धि भएको छ । सन् १९८० ताका ६ प्रतिशतमा सीमित रहेको नेपालको सरसफाइको आंकडा अहिले ९१ प्रतिशतमा पुगेको छ ।

अठारौं सरसफाइ सप्ताहको विषयमा जानकारी दिन खानेपानी तथा ढल निकास विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा सन् १९८० को दशकमा ६ प्रतिशत नागरिकको घरमा मात्र रहेको चर्पी सन् २०१० मा ४३ प्रतिशत र सन् २०१७ को अहिलेसम्ममा ९१ प्रतिशत पुगेको जानकारी गराएको हो ।

शुरुमा चर्पी बनाउने कामलाई आयोजना र कार्यक्रमको रुपमा लिएर चर्पीको संख्याको आधारमा प्रगति मापन गर्ने गरेको र अहिले कार्यक्रम भन्दा पनि अभियानको रुपमा अगाडि बढेकाले राम्रो सफलता प्राप्त भएको समितिका सदस्य सचिव एवं खानेपानी तथा ढल निकास विभागका वातावरणीय शाखा प्रमुख प्रेमकृष्ण श्रेष्ठले बताउनुभयो ।

‘अहिले सबै समुदाय, टोल, गाउँ समग्र क्षेत्र नै समेटी खुला दिसामुक्त गर्ने गरी सरसफाइलाई कार्यक्रम भन्दा पनि अभियानको रुपमा अगाडि बढेको छ । कतिवटा शौचालय बन्यो भन्दा पनि कति वटा टोल, बस्ती, गाउँ, गाविस खुला दिसामुक्त भए भनेर हेर्न थालेका छौं, सरकारले २०६८ सालमा सरसफाइ गुरुयोजना लागु गरेपछि यो अभियानले अझै तिब्रता र व्यापकता पाएको छ ।’ उहाँले भन्नुभयो ।

हेर्नुहोस् यो भिडियो :

नेपालले सरसफाइमा हासिल गरेको यो प्रगतिले दक्षिण एसियाली मुलुकमा नेपाललाई तेस्रो स्थानमा उभ्याएको छ । खानेपानी तथा ढल निकास विभागमा महानिर्देशक तेजराज भट्टका अनुसार नेपालमा सञ्चालन भइरहेको सरसफाइ अभियान अरु देशका लागि समेत नमुना बनेको छ ।

भारतमा १२ हजार भारु अनुदान दिंदा समेत नेपालको सरसफाइको दाँजोमा पुग्न नसकेको र नेपालले विना अनुदान चर्पी बनाएर देखाएको उहाँले बताउनुभयो । ‘हामी भन्दा माथि श्रीलंका र बंगलादेश छ, तेस्रोमा हामी छौं, भारत, भुटान, आफगानिस्तान, पाकिस्तान लगायत देशहरु नेपालभन्दा पछि छन्, हामीले गर्व गर्ने प्रशस्त आधारहरु छन्’ महानिर्देशक भट्टले भन्नुभयो । उहाँका अनुसार सरसफाइमा १ रुपैयाँ लगानी गर्दा नौ रुपैयाँको प्रतिफल प्राप्त हुन्छ ।

हेर्नुहोस् यो भिडियो :

हालसम्म ७५ मध्ये ३८ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । १० वटा जिल्ला घोषण हुने चरणमा छन् । स्थानीय निकायको सक्रियतामा सञ्चालन भइरहेको सरसफाइ अभियानले स्थानीय तहको निर्वाचन पछि अझ व्यापकता पाउने विभागको विश्वास छ । अठारौं सरसफाइ सप्ताह ‘खुला दिसामुक्त गर्नुछ, २०१७ भित्र, सक्षम र जिम्मेवार छ, हाम्रो स्थानीय नेतृत्व’ भन्ने नाराका साथ (जेठ २२ देखि २८ सम्म) विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार